• १८ साउन २०८२, आइतबार

नेपाल र चीन सम्बन्धको ७० वर्ष

कला प्रदर्शनी सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १८ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चीन साँस्कृतिक केन्द्र नेपालको आयोजनामा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा शनिबार ‘सिल्क रोड इकोज्, आर्ट युनाइट्स हर्टस्’ कला प्रदर्शनी सुरु भएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा भएको प्रदर्शनीको उद्घाटन पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छेन सोङले गर्नुभयो । पूर्वमन्त्री कोइरालाले प्रदर्शनीले दुई देशका बिचको अन्तरहृदय जोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीले कला र संस्कृतिलाई मात्र जोड्ने नभई दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।” 

राजदूत छेन सोङले नेपाल–चीन सम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताउनुभयो । उहाँले दुई देशका कलाकारलाई एकै मञ्चमा देख्न पाउँदा आफूलाई खुसी लागेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस्ता कला प्रदर्शनीले सांस्कृतिक कूटनीतिमा सधैँ गहिरो भूमिका खेल्ने बताउनुभयो । उहाँले कला केवल सौन्दर्य अभिव्यक्त गर्ने माध्यम मात्र नभई एकताबद्ध गर्ने एउटा पुल भएको धारणा राख्नुभयो । 

प्रदर्शनीमा नेपालका नारदमणि हार्तम्छाली, किरण मानन्धर, केके कर्माचार्य, लालकाजी लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, केशवराज खनाल, चिनियाँ कलाकार हे दोङ,  लु होङमिङ, वाङ छिहुआ, योङ जिनचेङ, जू जिनपिङ, लु दाजियांग, झू लिहोङ, जेंग यिङचुन, तान होङजिङ, झाङ गौचौ, झाङ डोङक्सिया, लो होंगताई, जू सियान, झाङ गुआंगमाओलगायतको सहभागिता रहेको छ । प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्रदीप शाक्य र समूह क्युरेटर रहनुभएको प्रदर्शनी साउन ३१ गतेसम्म चल्ने छ ।