• १८ साउन २०८२, आइतबार

तीन जिल्लाका १० समूह उछिन्दै रातामाटा भजन प्रथम

blog

रेसुङ्गा यज्ञशालामा सम्पन्न भजन प्रतियोगीतामा प्रथम रातामाटा भजन समूह । तस्बिर: टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन १८ गते ।
गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा सञ्चालन भइरहेको एक महिने साउने मेलाको अवसरमा आयोजना गरिएको भजन प्रतियोगीतामा तीन जिल्लाका १० समूहलाई उछिन्दै रातामाटा भजन समूह प्रथम भएको छ ।

त्यस्तै मदाने भजन समूह द्वितीय र छत्रकोट भजन समूह तृतीय भएका छन् । प्रतियोगीतामा गुल्मी, अर्घाखाँची र बाग्लुङ्गका गरेर ११ समूहले प्रतिस्प्रर्धा गरेको निर्णायक मण्डलका संयोजक खुम खत्रीले बताउनुभयो । एक महिनासम्म सञ्चालन हुने रेसुङ्गा साउने मेलामा संरक्षण समितिले बर्सेनी नियमित पुजापाठसहित भक्तिसंगीत, प्रवचन लगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

यस्ता कार्यक्रमले रेसुङ्गामा थप आर्कषण बढ्ने र कलासंस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । भक्तिसंगीत प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश:  ३०, २५ र २० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । साथै प्रत्येक समूहलाई सहभागीता स्वरुप पाँच हजार प्रदान गरिने भुसालले बताउनुभयो ।

विगतका वर्षहरुमा जस्तै अहिले पनि साउने मेला जारी छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिने तपोभूमि रेसुङ्गा पोखरीमा स्नान गरेमा सम्पूर्ण पापहरु न्ष्ट भएर पूण्य तथा समृद्धी प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।

चार धामवाट ल्याएको जल (पानी) रेसुङ्गाको पोखरीमा मिसाइएकाले रेसुङ्गा पोखरीमा स्नान गरेमा पूण्य प्राप्त हुने धार्मिक विश्वास रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले बताउनुभयो । साउन १ गतेबाटै रेसुङ्गा पोखरीमा स्नान गरी यज्ञशालाको दर्शन गर्ने दर्शनार्थीहरुको घुइँचो लागिरहेको छ । भुसालले मेलाकोे अवलोकन गर्न गुल्मीसहित अर्घाखाँची, पाल्पा, स्याङजा, प्युठान, बाग्लुङ्ग लगाएतका स्थानबाट दर्शनार्थीहरु आउने गरेको बताउनुभयो ।

साउने मेलाभर रेसुङ्गामा विद्वानहरुबाट प्रवचन, सामुहिक रुद्री, ग्रहजप र तीज गीत प्रतियोगीता प्रतियोगिता लगायतका विशेष कार्यक्रम गरिने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । दैनिक वेद चण्डी, रुद्री, गीता पाठ, पाञ्चायन देवता पुजन हुने समितीले जनाएको छ ।