• १८ साउन २०८२, आइतबार

महिला नेतृत्वले सम्हालेको माडी नगरपालिका

blog

माडी नगरपालिका कार्यालय । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 
चितवन, साउन १८ गते ।
चितवनको माडी नगरपालिकामा प्रमुख कार्यकारी पददेखि साना पदसम्म महिला नेतृत्वले सञ्चालन गर्दै आएको छ ।

पालिकाको प्रमुख महिला रहनु भएको छ भने विभिन्न विभागदेखि वडा अध्यक्षसम्म महिला नेतृत्वले धाने पालिका बनेको छ माडी नगरपालिका । महिलाको नेतृत्वमा प्रशासन सञ्चालन सफल हुन्छ र भन्ने नेपाली समाजमा माडी नगरपालिकाले राम्रो काम गरेर जवाफ दिएको छ ।

माडी नगरपालिका प्रमुख ताराकुमारीकाजी महतोले भन्नुभयो, “हाम्रो समाजले अझैपनि महिलाको नेतृत्वलाई राम्रोसँग स्वीकारेको अवस्था छैन । यस्तो समयमा पनि महिला नेतृत्वले स्थानीय सरकार कुशलतापूर्व सञ्चालन गरेर देखाएको पालिका माडी हो ।”

उहाँले भन्नुभयो, “मैले उपप्रमुख भएर काम गरे । अहिले प्रमुख भएर काम गरिराखेको छु । काम गर्ने इच्छा शक्ति भएमा लैङ्गिक अवस्थाले रोक्दैन ।” जिल्लाको सात पालिका मध्य दुई वटामा महिलाको नेतृत्व छ । ती पालिकाले राम्रो काम गरेर देखाएको छ । भरतपुर महानगरपालिकाको नेतृत्व महिलाको छ । माडी नगरपालिका म आफैँ महिलाको नेतृत्व छ । हामीले पालिकाले उदाहरणीय काम गरेर देखाउदै आएका छौँ ।

उहाँका अनुसार रोजगार संयोजकमा प्रमुख महिला, उद्यम विकास शाखा प्रमुख, सामी कार्यक्रम प्रमुख, मनोसामाजिक परामर्शकर्ता प्रमुख, सामाजिका विकास शाखा प्रमुख सवैमा महिलाको नेतृत्व रहेको छ । सवैको काम उत्कृष्ट रहेको पालिका प्रमुख महतोले बताउनुभयो । 
पालिकाको प्रमुख मात्र होइन नौ वटा वडा रहेको यस पालिकामा आठ वटा वडामा महिला सचिवले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँहरुको कामबाट आफू अत्यन्तै सन्तुष्ट भएको प्रमुख महतोले बताउनुभयो । लैङ्गिक कारणले केही फरक पर्दैन उहाँहरुमा काम गर्ने दक्षता क्षमता रहेको छ त्यही क्षमता प्रस्तत गरेर काम गर्नु भएको छ हामीलाई कुनै समस्या छैन महतोले भन्नुभयो ।

नौ वटा वडा रहेको माडी नगरपालिकामा एउटा वडा मात्र महिलाले अध्यक्षमा नेतृत्व सम्हाल्नु भएको छ । वडा नंं ७ को अध्यक्ष चन्द्रकुमारी बानियाँले भन्नुभयो, “महिला भएकै कारण काम गर्न समस्या भएको छैन । कहिलेकाही विहान वेलुका राति कुनै घटना भएको वेला पुरुष सरह छिटो जानलाई भने समस्या पर्ने गरेको छ । अन्य अवस्थामा काम गर्नको लागि कुनै व्यवधान भएको छैन ।”

अन्य पालिकाका वडा अध्यक्ष पुरुष हुनुुहन्छ उहाँहरुले गर्ने काम र मैले गर्ने काम एउटै हो जनप्रतिनिधि भएपछि जनताको काम गर्ने हो वडाको विकास, निर्माण जनताको प्रत्यक्ष सरोकारका काम सम्पन्न गर्दै आएका छौ वडा अध्यक्ष वानियाँले भन्नुभयो ।

विवाद समाधान, योजना तर्जुमा, आपतकालिन अवस्था, निकुञ्जको जनवारको जोखिमता, रिउ खोलाको कटान लगायतका काममा जनताको घरघरमा पुगेर काम गरेको छु । जनतालाई पुरुष र महिलाको नेतृत्वमा हुने कुनै फरक पर्ने नदेखिएको उहाँको भनाइ छ ।

वडा नं. ४ का वडा सचिव सुशिला दाहालले भन्नुभयो, “वडाका काम लिएर आउने सेवाग्राहीले सचिव ज्यु कता जानु भएको छ भनी मलाई नै सोध्ने गरेका छन् । सचिव म नै हो भन्दा सर हुनुहुन्न र भन्नु हुन्छ । सचिव भनेको पुरुष हुनु पर्छ भन्ने मान्यता अझै कायम रहेको पाएको छु ।” म मात्र होइन पालिकाको वडा नं. १ बाहेक अन्य सवै वडामा महिला सचिव हुनुहुन्छ उहाले भन्नुभयो । हामी कार्यालयको काम गरिसकेपछि साथीभाई भनेर लामो समय बाहिर बस्दैनौ काम भए अवेला सम्म बस्छौ काम नभए घर जान्छौ फरक यती हुने गर्दछ । पुरुष हुनु भयो भने साथीभाइ भनेर कार्यालय समय बाहेकको समयमा बसेर समय बिताउनु हुन्छ हामीमा त्यो बानी हुँदैन  दहालले भन्नुभयो ।

भरतपुर वडा नं. ६ स्थायी घर भएको उहाँले भन्नुभयो, ‘‘आफ्नै साधनमा भरतपुरबाट माडी जाँदा निकुञ्जको पोष्टमा चालक र साधन नम्बर लेखाउदा पुरुष चाकल खोज्नु हुन्छ ।’’ तर आफैँ गाडी चालक हो भन्दा सुरक्षार्थ सेनाले पत्याउनु हुन्छ दाहालले भन्नुभयो । काम गर्दै जादा पुरुषले गर्ने काम महिलाले गरेको भन्दा सुरुमा पत्याउन गाह्रो हुने अवस्था भने अहिले पनि नभएको उहाले बताउनुभयो ।