राजु लामिछाने
रुकुमपश्चिम, साउन १८ गते । रुकुमपश्चिम हुँदै बग्ने ठूलीभेरी र सानीभेरी नदीमा जलसतह बढेको छ । डोल्पा हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने ठूलीभेरी र रुकुमपूर्व हुँदै रुकुमपश्चिम, जाजरकोट भएर बग्ने सानीभेरी नदीले सतर्कता तह पार गरेका हुन् ।
जल तथा मौसमविज्ञान विभागका अनुसार गएराति ठूलीभेरी नदीले खतरा तह पार गरेको थियो । बिहान भने तह केहि कम रहेको छ । रिम्नामा रहेको जलमापन केन्द्रका ग्रेड रिडर लक्ष्मी शाहीका अनुसार आइतबार बिहान ५ बजे ठूलीभेरी नदीको सतह ५.५५ मिटर रहेको थियो भने ८ बजे ५.३५ मिटर देखिएको छ । अहिले सतह केही कम भएता पनि वर्षा भइरहकाले सतह बढ्ने बताइएको छ ।
त्यसैगरी सानीभेरी नदीको तह पनि बढेको छ । सानीभेरी गाउँपालिका ९ को सिम्लीमा रहेको जलमापन केन्द्रका ग्रेड रिडर वीरेन्द्र कुमार केसीका अनुसार आज बिहान सानीभेरीको सतह ३.८० मिटर रहेको छ । शनिबार २.८ मिटर रहेको नदीको तह राति बढेको उहाँले जानकारी दिनुभयो ।
वर्षा भइरहेकाले नदीको सतह अझै बढ्ने उहाँको भनाइ छ । नदीको सतह अझै बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको जलमापन केन्द्रले जनाएको छ ।
रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले नदी आसपासका क्षेत्रमा सतर्ककता अपनाउन आग्रह गर्नुभएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जानकारी दिएकाले पूर्व सूचनाको ख्याल राख्न आवश्यक रहेको उहाँले जनाउनुभयो ।
जोखिममा रहेका स्थानहरु र घटनाहरु भएमा तत्काल जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधिहरु, नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।