गुणबहादुर रोका
सुलीकोट, साउन १८ गते । उत्तरी गोरखाको छेकम्पार–चौरीखर्क–चुम उपत्यका हुँदै मनास्लु संरक्षण पुग्ने पर्यटन पदमार्ग निर्माण सम्पन्न भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाको आर्थिक सहयोगमा झण्डै १० लाख रुपियाँमा १ किलोमिटर पदमार्ग निर्माण गरिएको मनास्लु संरक्षणा क्षेत्र आयोजना कार्यालय गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार पदमार्ग निर्माणले पर्यटकहरूलाई सहज बनाउने उद्देश्यले पदमार्ग निर्माण गरिएको उहाँले बताउनुभयो । "पदमार्ग निर्माण सम्पन्न भएपछि पर्यटकलाई यात्रा सहज भएको छ", कार्यालय प्रमुख शेरचनले भन्नुभयो, "अप्ठ्यारो बाटोमा झारलकहरू हिँड्दा वा चरिरहँदा समेत ढुङ्गामाथि भिरबाट झरिरहने समस्या भएकाले पनि बाटो निर्माण भएपछि ढुङ्गा झरे पनि कुनै समस्या नहुने गरी पदमार्ग निर्माण गरिएको छ ।"
मनास्लु पदमार्ग अन्तर्गतको बाटोमा यात्रा गर्न पर्यटक तथा स्थानीयहरूलाई निकै कठिनाई भएकाले पनि मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाले आफ्नै बजेट तथा मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन समितिको जनसहभागिता र सक्रियातमा पदमार्ग निर्माण समपन्न भएको मनास्लु संरक्षण क्षेत्र अयोजना गोरखाले जनाएको छ ।
मनास्लु पदमार्गको लागि सबैभन्दा बढी चुमनुब्री गाउँपालिका–७, छेकम्पार बाटो भएर पर्यटक आवतजावत गर्ने भएकाले पनि झण्डै १ किलोमिटर पदमार्ग चिप्लो, अप्ठ्यारो, र भिरालो हुदाँ पर्यटकहरूलाई उक्त ठाउँमा सास्ती नै बेहाेर्नु परेको थियो ।
"सोहि पदमार्गमा बाटो निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्छ", प्रमुख शेरचनले भन्नुभयो, "गत वर्षमा भन्दा आगामी वर्षमा पर्यटकहरू छेकम्पारको चौरीखर्क चुम उपत्यका हुँदै आन्तरिक तथा बाह्रय पर्यटकको सङ्ख्या दोब्बर बढ्ने विश्वास छ ।|
दैनिक सयौँ पर्यटकहरू छेकम्पारको चौरी खर्क पदमार्ग भएर मनास्लु क्षेत्र पुग्ने गरेका छन् । मुख्य गरी पर्यटकलाई सहज रूपमा मनास्लु क्षेत्र प्रवेश गराउन छेकम्पारको चौरीखर्क पदमार्गले पर्यटकहरूको सङ्ख्या बढ्ने देखिएको कार्यालय प्रमुख शेरचनको भनाइ छ ।
अहिले उक्त पदमार्गहरूमा फलामका पोलहरू राखेर २१० मिटर ग्याबिन जाली लगाएर पदमार्गमा भरपर्दो र सुरक्षित बनाइएको छ । विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहयोगमा पदमार्ग फराकिलो जोमिमयुक्त बाटो निर्माण गरिएको मनास्लु संरक्षण आयोजना क्षेत्र गोरखाले जनाएको छ ।