विजयकुमार साह
ढल्केबर, साउन १८ गते । धनुषाको ढल्केबरमा किसानले उत्पादन गरेको कृषि उपज सिधै खरिद गर्न सङ्कलन केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सो सङ्कलन केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।
ढल्केबरमा कम्पनीद्वारा आयोजित नेपालको कृषि रुपान्तरण विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा कम्पनीका अध्यक्ष विशाल हुमागाईंले ढल्केबरमा कृषि उपज सङ्कलन केन्द्र निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाएको बताउनुभयो ।
उहाँले किसानको उत्पादनले उचित मूल्य पाउने बताउँदै किसानलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने जानकारी दिनुभयो । अध्यक्ष हुमागाईले उपभोक्ताको भान्सामा पर्ने खर्च कम गर्न उपज खरिदमा विशेष छुट तथा सहुलियतको व्यवस्था पनि गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ढल्केबर र आसपासका ठाउँ कृषि उत्पादनका लागि प्रख्यात छ । तर उत्पादनले उचित मूल्य र बजार नपाउँदा किसान मर्कामा पर्ने गरेका छन् ।’’ उहाँले सङ्कलन केन्द्र स्थापनाले किसानको यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कम्पनीका बजार प्रबन्धक अजयकुमार सिंहले समग्र कृषि क्षेत्रको रुपान्तरणका लागि कम्पनीले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले यस्तो पहलले कृषि व्यवसाय विस्तार, लगानीको पहिचान तथा आर्थिक समृद्धिमा समेत महत्त्वपूर्ण टेवा पुग्ने जानकारी दिनुभयो ।