• १७ साउन २०८२, शनिबार

विद्युत प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिँदा किसानलाई सिँचाइ सहज

blog

विद्युत ट्रान्सफर्मर जडान गर्दै नेपाल विद्युत प्राधिकरण राजविराज । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), साउन १७ गते ।
नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिँदा खडेरीको मारबाट पिल्सिएका किसानलाई सिँचाइ गर्न सहज भएको छ ।

नेपाल विद्युत प्राधिकरण राजविराजले जिल्लाको विभिन्न स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरिदिँदा बन्द अवस्थामा रहेका डिप बोरिङहरु पुनः सञ्चालनमा आएपछि किसानहरुलाई खेतमा सिँचाइ गर्न सहज भएको हो ।

ट्रान्सफर्मर जडान गरिएपछि विगतदेखि बन्द अवस्थामा रहेका बोरिङ चल्न थालेका छन् र यसबाट खडेरीको मारमा परेका सयौं कृषकलाई सिँचाइ गर्न सहज भएको नेपाल विद्युत प्राधिकरण राजविराजका प्रमुख लखनलला मल्लिकले बताउनुभयो ।

उहाँले ट्रान्सफर्मर जडानबाट बोरिङहरु सञ्चालनमा आएपछि खडेरीका बेला त्यसक्षेत्रका किसानलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणले सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ महुवा र लालापट्टी, राजविराज नगरपालिका– १० स्थित कमलपुर र १२ स्थित दमावती, राजगढ गाउँपालिका ४ स्थित जमुवा, हनुमाननगर कंकालिनी नगरपालिका ६ स्थित डगरा टोल र डाक्नेश्वरी नगरपालिका ८ स्थित परवाहामा नयाँ ट्रान्सफर्मर जडान गरेको प्राधिकरणका प्रमुख मल्लिकले जानकारी दिनुभयो ।

यसअघि विद्युत आपूर्तिको अभावका कारण डिप बोरिङ थन्किएका थिए । लगातारको खडेरीका कारण सिँचाइ अभावले रोपाइँ रोकिएको थियो भने रोपिएका धानबाली पनि खेतमै सुक्न थालेका थिए । स्थिति गम्भीर बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले सरोकारवाला निकायलाई तत्काल पहल गर्न निर्देशन समेत दिनुभएको थियो ।

सप्तरीजस्ता मधेशका जिल्लामा तत्काल सिँचाइको विकल्प डिप बोरिङ नै हो । यस्तो बेलामा समयमै उपलब्ध भएको बिजुली सहयोगले बाली जोगाउने र किसानको मनोबल उकास्ने काम गरेको छ ।

यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले पनि सप्तरीमा रहेका नेपाल विद्युत प्राधिकरण राजविराज, कञ्चनपुर र बोदेबर्साइन केन्द्रलाई विद्युत ट्रान्सफर्मरकै अभावमा बन्द रहेका बोरिङहरु सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख अरुणकुमार साहले बन्द रहेका डिप बोरिङ बारे तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको र प्राधिकरण मधेश प्रदेश निर्देशनालयसँग आवश्यक बजेट समेत माग गरिएको जानकारी दिनुभयो । उहाँले माग गरिएको बजेट छिट्टै उपलब्ध गराइदिन सरोकारबालाहरुलाई पहल गरिदिन समेत आग्रह गर्नुभयो ।