शालिग्राम नेपाल
मुग्लिङ (चितवन), साउन १७ गते । मुग्लिङदेखि नागढुङ्गासम्ममा हुँदै गरेको सडक विस्तारपछि बाटो काट्नका लागि सजिलो बनाउन निर्माण गर्ने भनिएको आकासे पुल निर्माणको काम अनिश्चित भएको छ । नागढुङ्गा–मुग्लिङ सडक पश्चिम खण्ड र नागढुङ्गा–मुग्लिङ सडक गरी करिब दुई दर्जन स्थानमा आकासे पुल निर्माणका लागि बजेट विनियोजन भएको छ तर यस राजमार्गको मुख्य बजार क्षेत्रमा रहेका स्थानीय व्यापारीले पुल निर्माण हुँदा ठाउँ साँघुरो भएर व्यापारमा असर पार्ने भन्दै निर्माणका लागि अवरोध सिर्जना गरेका छन् ।
मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालय मुग्लिङका प्रमुख इन्जिनियर केदार नेपालले पुल निर्माणका लागि स्थानीयले अवरोध गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सडक निर्माणको चरणमा रहेको छ, तत्काल निर्माणका काममा अवरोध गरिएको छ । हामी छलफलका व्रmममा रहेका छौँ । बनाउन दिनुभएको छैन भन्न मिल्दैन तर अहिले निर्माण गर्न सकिने अवस्था भने रहेको छैन ।”
दोहोरो लेनसहितको सडक निर्माण भएपछि यहाँ सवारीसाधनको गति तीव्र हुने छ । यस्तो अवस्थामा सडक पार गर्न कठिन हुने भएकाले राजमार्गको मुख्य बजार क्षेत्रका सुरु हुने विन्दु र अन्तिम विन्दुमा दुई वटा आकासे पुल निर्माणको योजना निर्माणकै व्रmममा रहेको छ तर यस क्षेत्रका स्थानीय व्यापारीले पुल निर्माण गर्दा जग्गा धेरै लाग्ने, पसलअगाडि पुल भएपछि व्यापारमा त्यसले नकारात्मक प्रभाव पार्ने भन्दै निर्माण गर्न दिएका छैनन् ।
पुल निर्माणका लागि कार्यालयले प्रयास गरे पनि यसले सफलता पाएको छैन । इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले भन्नुभयो, “मुग्लिङ बजारमा पुल बन्न नदिने पक्का भयो । हामीले धेरै प्रयास ग¥याँै तर सम्भव भएन । आकासे पुल बने व्यापारमा समस्या हुन्छ । पुलले पसल छेक्छ भन्दै बनाउन दिएनन् ।” उहाँले भन्नुभयो, “कुरिनटारमा सर्वशान्ति माध्यमिक विद्यालयका पढ्ने विद्यार्थीले आवतजावत गर्न सहज हुन्छ भनेर कुरा गरिरहेका छौँ । हालसम्म त्यहाँ पनि कुनै निश्चित छैन ।”
आयोजना कार्यालयका अनुसार मुग्लिङमा दुई वटा, कुरिनटारमा दुई वटा, मलेखुमा दुई वटा, बेनीघाटमा दुई वटा, मझिटार र अन्य स्थानमा गरी ११ वटा आकासे पुल निर्माण गर्न योजनामा बजेट विनियोजन गरिएको छ तर स्थानीयको अवरोधका कारण यस क्षेत्रका कुनै पनि स्थानमा पुल निर्माणको काम अगाडि बढेको छैन ।
मलेखुदेखि नागढुङ्गासम्मको स्थानमा पनि बाटो काट्नका लागि अपाङ्गतामैत्री ¥यामसहितको आकासे पुल निर्माणको योजना रहेको छ । यस क्षेत्रमा पनि निर्माण गर्न स्थानीय व्यापारीले अवरोध गरेका छन् । नागढुङ्गा मुग्लिङ सडक योजना पूर्वी खण्ड कार्यालयका सूचना अधिकारी माधव पौडेलले स्थानीय व्यापारी तथा सडकछेउमा घर भएकाले अवरोध गरेका कारण निर्माण प्रव्रिmया अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरै छलफल र प्रयासपछि खानीखोला क्षेत्रमा अपाङ्गतामैत्री ¥यामसहितको आकासे पुलका लागि स्थान छुट्याएर काम अगाडि बढेको छ । अन्य स्थानमा पनि पुल निर्माणको योजना रहेको छ तर हामीले स्थानीयलाई बुझाउन सकेका छैनौँ ।”
बर्सातमा काम रोकिए
मुग्लिङ–नागढुङ्गा सडक विस्तारको पूर्व र पश्चिम दुवै खण्डमा अहिले सामान्य कामबाहेक अन्य निर्माण रोकिएको छ । बर्सातमा काम गर्दा समस्या हुने भएपछि निर्माणको काम रोकिएको कार्यालयले जानकारी दिएको छ । मुग्लिङदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर क्षेत्र नागढुङ्गा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालयले हेर्दै आएको छ । यस क्षेत्रमा अहिलेसम्म ३३ प्रतिशत काम सम्पन्न भएको छ । १० किलोमिटरभन्दा धेरै कालोपत्रे निर्माण भइसकेको छ । चार अर्ब ८० करोड ५९ लाख ७४ हजार रुपियाँमा ठेक्का लागेको थियो । ठेक्का सम्झौता २०७९ मङ्सिर ७ गते भएको थियो । सडक विस्तारको काम २०८२ पुस १३ गते सम्पन्न गर्नुपर्ने रहेको छ ।
त्यस्तै गरी पूर्वी खण्ड नागढुङ्गादेखि मलेखुसम्म ५५ किलोमिटर सडक विस्तारको काम भइरहेको छ । यस खण्डमा अहिले २७ किलोमिटर सडक पक्की निर्माण भइसकेको छ । ५५ किलोमिटर सडक निर्माणका लागि दुई वटा खण्डमा ठेक्का सम्झौता भएको छ । नागढुङ्गादेखि नौबिसे सडकखण्ड १२.२ किलोमिटरका लागि एक अर्ब ३१ करोड रुपियाँमा ठेक्का लागेको हो । नौबिसे मलेखु सडकखण्डको ४३.५ किलोमिटरको लागि पाँच अर्ब ३३ करोड रुपियाँमा विस्तार कार्य भइराखेको छ । दैनिक १५ हजारभन्दा धेरै सवारीसाधन सञ्चालन हुने भएकाले यस क्षेत्रमा काम गर्न धेरै कठिन हुने गरेको कार्यालयका सूचना अधिकारी पौडेलले बताउनुभयो । अहिलेसम्म दुवै ठेक्काको ४९.७३ प्रतिशत भौतिक प्रगति भएको छ भने ६६.९४ प्रतिशत खर्च भएको बताइएको छ ।