पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, साउन १७ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ५, बण्डाखोला जितपुरका १६८ घरपरिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई लक्षित गरी भूमि समस्या समाधान आयोग, पश्चिम नवलपरासीले यो पुर्जा वितरण गरेको हो ।
यो वितरण कार्य दुई चरणमा सम्पन्न भएको छ । पहिलो चरणमा ६७ र दोस्रो चरणमा थप १०१ घरपरिवारलाई पुर्जा प्रदान गरिएको हो । लालपुर्जा पाएपछि सेवाग्राहीहरूमा खुसी भएका छन् ।
जग्गाधनी पुर्जा वितरण समारोहमा बोल्दै प्रमुख अतिथि सङ्घीय सांसद बिनोद चौधरीले लालपुर्जा वितरणलाई ‘स्वामित्व मात्र नभई आत्मसम्मान, आत्मबल र आर्थिक समृद्धिको कडी’ भएको बताउनुभयो ।
कार्यक्रममा भूमि आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले आयोगले निष्पक्ष र प्रभावकारी रूपमा काम गर्दै आएको बताउनुभयो । यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदल, बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले विकास कार्यमा सहकार्य र स्थानीय तहले आयोगलाई गर्दै आएको समन्वयकारी भूमिकाबारे प्रकाश पार्नुभयो ।
पूर्व प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीले जोतभोग नगरेका सुकुम्वासीहरूका लागि वैकल्पिक व्यवस्थापन खोज्न आयोगलाई आग्रह गर्नुभयो।
बर्दघाट नगरपालिकाका अनुसार, बर्दघाटमा हालसम्म ७,२७० जनाको निवेदन दर्ता भएको छ, जसमा ८४४ भूमिहीन दलित, १,४८१ भूमिहीन सुकुम्वासी र ४,९४५ अव्यवस्थित बसोबासी रहेका छन् ।