• ८ वैशाख २०८१, शनिबार

चैते धान भित्र्याइँदै

blog

कोहलपुर, असार ८ गते । बाँकेको खजुरा गाउँपालिका–१, राधापुरका किसान मगनसिंह थापालाई यतिबेला चैते धानभित्र्याउन भ्याइ नभ्याइ छ । फागुनमा रोपेको चैते धान पाकेपछि थापाले अहिले धान भित्र्याउने काममा आफूलाई व्यस्त बनाउनुभएको छ । थापा जस्तै यतिबेला बाँकेका सबै किसानहरूले चैते धान भित्र्याउने काम गरिरहेका छन् भने वर्षे धान रोप्नका लागि बीउ तयार पारेर राखेका छन् । 

कृषि ज्ञानकेन्द्र बाँकेका अनुसार यो वर्ष बाँकेमा २० बिघा क्षेत्रफलमा चैते धान खेती गरिएका छन् । गत वर्ष २ बिघामा मात्र चैते धान खेती गरेकोमा यस वर्ष १८ बिघा क्षेत्रफल बढाउन सफल भएको ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो । 

बाँकेमा पानी नपरेकाले किसानहरूलाई चैते धान भित्र्याउन सहज भएको उहाँले बताउनुभयो । गत वर्ष प्रतिकट्ठा २ क्विन्टलका दरले चैते धान फलेकामा यस वर्ष पनि सोही अनुपातमा धान फलेको उहाँले बताउनुभयो । यसरी हेर्दा बाँकेमा चैते धानखेतीप्रति किसानको आकर्षण बढ्दै गएकाले चैते धान खेती प्रवद्र्धन कार्यक्रमलाई जोड दिँदै जाने उहाँको भनाइ छ । वर्षातको समय भएकाले घाम लागिरहेको समयमा छिटो गरी धान भिœयाउन ढकालले सुझाव दिनुभयो । 

बाँकेमा जुनसुकै समयमा सिँचाइ हुने क्षेत्रमा चैते धान खेती गरिँदै आइएको छ । बाँकेका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही क्षेत्रमा मात्र चैते धान खेती हुँदै आएको छ । बाँकेमा यो वर्ष हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५ र पीआर १२६ जातको चैते धान रोपिएका छन् । चैते धान फागुनमा रोपेर जेठको अन्तिम सातादेखि भित्र्याउन सुरु गरिन्छ । चैते धान खेतीलाई प्रवद्र्धन गर्न र किसानको आकर्षण बढाउन कृषि विकास सञ्जाल गठन गरेर काम गरिरहेको कृषि ज्ञानकेन्द्र बाँकेले जनाएको छ । 

Author

सावित्री गिरी