• ७ जेठ २०८१, सोमबार

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह

blog

मानववादी जयपृथ्वीबहादुर सिंहलाई नेपाल सरकार यही असार ६ गते राष्ट्रिय विभूति घोषणा गरेको छ । सरकारको उक्त निर्णय ऐतिहासिक छ । सरकारको उक्त निर्णयले नेपाल आमाका सच्चा सपूतमाथि न्याय मिलेको छ । आजभन्दा १४४ वर्षअघि बझाङको चैनपुरमा सिंहले नेपालको शिक्षा, न्यायप्रशासन, पत्रकारिता र नेपाली भाषाको उत्थानमा पु-याएको योगदान अतुलनीय छ ।

जनअधिकार, प्रशासन सुधार र न्यायिक निष्पक्षताका पक्षमा उभिएका सिंहको ससुरा राणा प्रधानमन्त्री चन्द्रशमशेरसँग मतभेद थियो । सोही कारण ससुरासँग विद्रोह गरी हुँदा खादाको जागिर, भौतिक सेवा सुविधाका साथै बझाङको राजपदवी त्यागेर भारत निर्वासनमा गएका थिए । भारत निर्वासनका क्रममा उनले आफ्नो सम्पूर्ण जीवन विश्वशान्ति र मानवतावादमा खर्चेका थिए । विश्वव्यापी रूपमा मानवताको सन्देश प्रवाह गरेका थिए । 

को हुन् जयपृथ्वी ? 

सिंहको जन्म १९३४ भदौ ७ गते बझाङको चैनपुरमा भएको थियो । उनी तत्कालीन बाइसे राज्यमध्येको एक बझाङका राजा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीका जेष्ठ पुत्र थिए । राणा प्रधानमन्त्री जङ्गबहादुरका छोरीपट्टिका नाति थिए । चैनपुर दरबारमै अक्षरारम्भ गरेका सिंह अध्ययनका लागि वि.सं. १९४२ मा काठमाडौँ आएका थिए । पढाइमा जेहनदार सिंहले थापाथली दरबार स्कुलमा पढ्न पाएका थिए । पछि दरबार हाईस्कुलमा माध्यमिक शिक्षा हासिल गरेका सिंहले वि.सं. १९५१ मा कलकत्ता विश्वविद्यालयबाट म्याट्रिक उत्तीर्ण गरेका थिए ।

वि.सं. १९५२ मा इलाहावाद कलेजबाट समाजविज्ञानमा आइ.ए विसं. १९६२ मा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका थिए । प्रधानमन्त्री वीरशमशेरको यिनका बुवा राजा विक्रमबहादुरसँग खटपट परेको थियो । सोही कारण वीरशमशेरले विक्रमबहादुरलाई अपदस्त गरी १२ वर्षीय जयपृथ्वीबहादुर सिंहलाई बझाङको राजा बनाएका थिए । जयपृथ्वी विसं. १९५१ मा चन्द्रशमशेरकी छोरी खगेश्वरीसँग विवाह बन्धनमा बाँधिएका थिए । 

शैक्षिक विकासका मेरुदण्ड

राणाकालीन कालरात्रीमा पनि शिक्षाको उज्यालो देख्न पाएका जयपृथ्वी देश र जनताको अवस्था देख्दा सदा चिन्तित रहन्थे । जनतामाथि लादिएको क्रुर, बर्बर जहानियाँ राणा शासन यिनलाई मन परेको थिएन तर मुलुकको सम्पूर्ण शक्ति हातमा लिएका राणाहरूविरुद्ध बोल्न सक्ने अवस्था नै थिएन । त्यस परिस्थितिमा पनि जयपृथ्वीले नेपालको शिक्षा, न्यायप्रशासन, नेपाली भाषा र पत्रकारिताका क्षेत्रमा उल्लेख्य योगदान पु-याएका थिए । प्रधानमन्त्री देवशमशेरका पालामा नेपालमा राष्ट्रभाषाका पठनपाठनको भाषा छनोटका लागि भएको परामर्शमा जयपृथ्वीबहादुर सिंह, हरिहर आचार्य, बटुकृष्ण मैत्रय र मोतीराम भट्ट उपस्थित थिए ।

परामर्शका क्रममा बटुकृष्ण मैत्रयले पठनपाठनको माध्यम अङ्ग्रेजी हुनुपर्ने सुझाव दिएका थिए । संस्कृतलाई पठनपाठनको माध्यम बनाइनुपर्ने राय हरिहर आचार्यको थियो तर जयपृथ्वी र मोतीराम भट्टले नेपाली भाषालाई पठनपाठनको माध्यम बनाइनुपर्ने सुझाव दिएका थिए । त्यसपछि देवशमशेरले सोही सुझावअनुसार पठनपाठनको भाषा नेपाली चयन गरेका थिए ।

नेपाली भाषामा पठनपाठन गर्ने निर्णय भए पनि पुस्तक भने थिएन । त्यसैले जयपृथ्वी आफैँले वि.सं. १९५८ मा ‘अक्षरांक शिक्षा’ नामक पाठ्यपुस्तक लेखेका थिए । ४४ पृष्ठको ‘अक्षराङ्ग शिक्षा’ नेपाली भाषाको पहिलो पाठ्यपुस्तक हो । ‘अक्षराङ्ग शिक्षा’ पछि जयपृथ्वीले विद्यार्थीहरूकै लागि वि.सं. १९५८ मा बालबोध, ज्ञानमाला र श्रेस्तादर्पण पाठ्यपुस्तक लेखेका थिए । 

यस अघि पनि जयपृथ्वीले १४ वर्षकै उमेरमा वि.सं. १९४८ मा सिंहले ब्रिगेड नामक अङ्गे्रजी सैनिक पुस्तक नेपालीमा अनुवाद गरी प्रकाशित गरेका थिए । वि.सं. १९६२ मा शिक्षा दर्पण पहिलो भाग प्रकाशित गरेका थिए । देवशमशेरको पालामा खोलिएका नेपाली भाषा पाठशालाको दरबन्दी प्रधानमन्त्री चन्द्रशममशेरले खारेज गरेका थिए । जनतालाई शिक्षाको उज्यालोबाट वञ्चित गर्ने चन्द्रशमशेरको नीतिप्रति असहमति जनाएका थिए ।

अड्डा अदालत र राज्य प्रशासन सञ्चालानार्थ आवश्यक जनशक्ति आवश्यकता चन्द्रशमशेरलाई बोध गराई बन्द भाषा पाठशाला पुनः सञ्चालनमा ल्याउन अहम् भूमिका खेलेका थिए । ती भाषा पाठशालाहरूलाई त्यसपछि श्रेस्ता पाठशालाका रूपमा रूपान्तरण गरेका थिए । श्रेस्ता पाठशालाका लागि आवश्यक पाठ्यपुस्तक श्रेस्ता दर्पण जयपृथ्वी आफैँले लेखेका थिए । नेपालमा कानुन विद्याको पठनपाठनका लागि लेखिएको श्रेस्ता दर्पण पहिलो कानुन पुस्तक हो । 

बझाङको उत्थान

कलकत्ताबाट अध्ययन सकेर फर्केपछि जयपृथ्वीले नक्सालस्थित आफ्नै निवासमा जनताका छोराछोरीका लागि सत्यवादी पाठशाला खोेलेका थिए । आफैँ प्रधानाध्यापक भएर अध्यापन गराएका थिए तर पाठशाला सञ्चालनमा राणाहरू तगारो बनेपछि उनले सत्यवादी पाठशाला वि.सं. १९७९ मा बझाङमा सारेका थिए । सुदूरपश्चिम नेपालमा जयपृथ्वीले स्थापना गरेको सत्यवादी पाठशाला पहिलो विद्यालय हो ।

जयपृथ्वीले आफ्नो राज्य बझाङमा समेत न्यायिक प्रशासनिक सुधार, शिक्षा, स्वास्थ्य र विकास निर्माणमा ठूलो योगदान पु-याएका थिए । वि.सं. १९५५ मै बझाङबाट विपन्न समुदायका आठजना विद्यार्थी काठमाडौँ ल्याएर तालिम दिएका थिए । बझाङमा पञ्चायतकालको उत्तराद्र्धसम्म गाउँगाउँमा फलामका भाँडाकुडा, कृषि औजार, सुती कपडा र नेपाली कागज उद्योगहरू थिए ।

बझाङमा छालाजुत्ता त पञ्चायतको अन्तसम्म पनि बनाइन्थे । विसं. २०१६ अघिसम्म पनि बझाङ राज्यको आफ्नै राज्य अदालत थियो । जयपृथ्वीले बझाङको न्यायिक सुधारका लागि स्वतन्त्र न्यायालय स्थापना गरेका थिए । वि.सं. १९५६ मा सार्वजनिक सूचना दरागर्खामा टाँस गरी जनतालाई अन्याय अत्याचार नसहन र न्यायका अदालतको ढोका ढक्ढक्याउन अपिल गरेका थिए । वि.सं. १९६६ मा कलकत्ताबाट आयुर्वेदिक चिकित्सक ल्याई बझाङमा खग आयुर्वेद औषधालय खोलेका थिए । त्यसरी भित्र्याइएका 

बङ्गाली डाक्टरका दरसन्तानहरू अहिले पनि बझाङमा छन् । वि.सं. १९६७ मा बझाङमा भूमिसुधार लागू गरी आफ्नै परिवारका नाममा रहेका सेरा र फाँटहरूको जग्गामाथिको मोहियानी हक जनताका नाममा गरेका थिए । जयपृथ्वीको यस निर्णयबाट उनका परिवारका सदस्य, भाइभारदारहरू भने खुसी थिएनन् । 

गोरखापत्रका जग

मुलुकको जेठो पत्रिका गोरखापत्रको स्थापना र उत्थानमा जयपृथ्वबहादुर सिंहको अहम् भूमिका रहेको थियो । वि.सं. १९५७ मा गोरखापत्र प्रकाशनार्थ सिंहले आवश्यक तयारीमा सघाएका थिए । त्यसपछि वि.सं. १९५८ सालदेखि गोरखापत्र साप्ताहिक रूपमा प्रकाशित हुन थालेको हो । जयपृथ्वीले गोरखापत्रको सञ्चालक भई काम गरेका थिए । सर्वहितैषी चरित्रका जयपृथ्वीले नै गोरखापत्रको मूलमन्त्रका रूपमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जनः ।।” चयन गरेका थिए । 

राणाहरूले राजनीतिक सुधार र जनअधिकारमाथि बन्देज लगाएका कारण ती सामग्रीहरू गोरखापत्रमा प्रकाशित हुनै सम्भावना नै थिएन । त्यसैले आफू सञ्चालक रहुन्जेल यिनले मानव सेवा, नैतिक आचरण सुधारमा सहयोगी सामग्रीहरूलाई गोरखापत्रमा स्थान दिएका थिए । कलकत्ताको काउन्सलर रहेका जयपृथ्वीलाई वि.सं. १९६२ मा फिर्ता बोलाइएपछि उनले फर्कंदा गोरखापत्रका लागि हाते प्रेस ल्याएका थिए । त्यसपछि गोरखापत्रको प्रकाशन अरू सहज भएको थियो । 

अन्तर्राष्ट्रिय सम्बन्धका सेतु

नेपालले भारत बेलायतको उपनिवेश रहँदै आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको थियो । बेलायत, भारतलगायतका मुलुकहरूमा नेपाली राजदूत रहने व्यवस्था थियो । तथापि विश्वका अधिकांश मुलुक नेपालको दौत्य सम्बन्ध स्थापना भइनसकेको अवस्थामा जयपृथ्वीबहादुर सिंहले अमेरिका, जापान, चीन, स्विटजरल्यान्ड, जर्मनी, चेकोस्लोभाकिया, अष्ट्रिया, हङ्गेरी, रोमानिया, पोल्यान्ड, फ्रान्सलगायतका मुलुकहरूको भ्रमण गरी ती मुलुकका विभिन्न सहरमा आफूद्वारा प्रतिपादित ‘मानवतावाद’ दर्शनबारे प्रवचन दिएका थिए ।

जयपृथ्वीबहादुर सिंहको यस प्रयासले जनस्तरबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा उल्लेख्य योगदान पुगेको देखिन्छ । मानवतावादको प्रवचनका क्रममा जयपृथ्वीले युरोप, अमेरिका, एसिया र अफ्रिकाका धेरै मुलुकको भ्रमण गरेका थिए । मानवतावाद, विश्व–भ्रातृत्व र विश्व शान्ति सन्देश प्रवाह गरेका थिए । 

मानवतावाद प्रसारका लागि सन् १९२८ बैङ्गलोरमा ‘ह्युमानिस्टिक क्लब’ को स्थापना गरेका थिए । ‘द ह्युमानिस्ट’ मासिक अङ्ग्रेजी पत्रिका प्रकाशन गरेका थिए । १९२९ अप्रिल २२ मा स्विट्जरल्यान्डको जेनेभा, १९२९ मे १ मा जर्मनीको बर्लिन, १९२९ मे ६ मा प्राग, १९२९ मे ११ मा भियना, १९२९ मे १४ मा हङ्गेरीको बुडापेस्टमा, १९२९ मे १८ मा बेलगे्रड, १९२९ मे २३ मा रोमानियाको बुखारेस्ट, १९२९ जुन ३ मा पोल्यान्डको वार्सा, १९२९ जुलाइ २ मा फ्रान्सको पेरिस, १९२९ जुलाइ २३ मा बेलायतको संसद् समितिमा मानवतावादको प्रवचन दिएका थिए । त्यसैगरी, १९३३ को अगस्त ८ मा अमेरिकाको सिकागोमा विश्वआस्था मैत्रीद्वारा आयोजित कार्यक्रममा मानवत्वको मौलिक एकत्व बारे प्रवचन दिएका थिए । प्रवचनकै सिलसिलामा १९३३ अक्टोवरमा जापान टोकियो पुगेका थिए ।

त्यसैगरी १९३३ नोभेम्बरमा चीनको साङ्घाईमा प्रवचन दिएका थिए । सन् १९३५ मा अविसिनियामाथि इटलीले आक्रमण गर्दा सिंहले जापानबाट ग्यास मास्क ल्याई अविसिनिया पुगेर घाइते सैनिकको उपचार र उद्धारमा खटेका थिए । जयपृथ्वी विश्व राजनीति र अरू देशले गरेका उन्नति प्रगति बारे जानकार थिए । अरू मुलुकको झँै उन्नति प्रगति नेपालको पनि होस् भन्ने चाहना उनीमा थियो । जयपृथ्वी खासगरी जापानको विकास र उन्नतिबाट प्रभावित थिए । त्यसैले जयपृथ्वीले जापानको उन्नति, प्रगति शासनप्रणालीलाई समेटेर जापानको इतिहास लेखेका थिए । 

कानुनमा स्नातक जयपृथ्वीले वि.सं. १९६४ मा भारदारी अड्डाका प्रमुख (हाल प्रधानन्यायाधीश) बनेका थिए । न्याय सम्पादनमा जयपृथ्वी निष्पक्ष थिए । ससुरा प्रधानमन्त्री चन्द्रशमशेरका आसेपासेहरूले विचाराधीन मुद्दामा चलखेल गरे पनि जयपृथ्वीले कहिल्यै कुनै प्रभाव र दबाबमा न्याय सम्पादन गरेनन् । एक पटक तप्तबहादुरको मुद्दामा चन्द्रशमशेरले हेरफेर गर्न भनेपछि जयपृथ्वीले कानुनविपरीत जान नसकिने राय व्यक्त गरे । सोही कुरामा ससुरा चन्द्रशमशेरको कटुवाणी जयपृथ्वीको कानमा प-यो । सोही दिन उनले बझाङको राजपदवी त्यागेर भारत निर्वासनमा गएका थिए । 

यसरी हेर्दा जयपृथ्वीबहादुर सिंहले नेपालको शैक्षिक, प्रशासनिक, न्यायिक, भाषिक र परराष्ट्रसम्बन्ध विस्तारका क्षेत्रमा पु-याएको योगदान उल्लेख्य छ । जयपृथ्वीबहादुर सिंहले राष्ट्र निर्माणमा पु-याएको योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने कार्य प्रशंसा योग्य छ । र, पनि सिंहको योगदानका सबै कुरा अझै अगाडि आउन सकेका छैनन् । यस विषयमा थप सोधखोज आवश्यक छ । 

Author

रतन भण्डारी