• १५ साउन २०८२, बिहिबार

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

blog

नेपालगञ्ज,  साउन १४ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियाका स्थानीय राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपत्कालीन तटबन्ध निर्माण गरिएको हो ।

पछि उनीहरुमा खुसीको सीमा नै छैन । “तटबन्ध निर्माण भएसँगै बाढीको जोखिम हटेको छ, अब ढुक्कसँग बस्न पाउनेमा विश्वास लागेको छ”, राप्तीसोनारी-७ का वडाध्यक्ष रामलखन थारुले भन्नुभयो । उहाँले जनताको तटबन्ध कार्यालयअन्तर्गत लिइएको पहल र तत्परताको प्रशंसा गर्दै यस वर्ष वर्षामा बस्ती जोगिने धारणा राख्नुभयो । 

वर्षा सकिएपछि स्थायी तटबन्धको प्रावधान रहेको उल्लेख गर्दै वडाध्यक्ष थारुले तटबन्धपछि स्थानीय निकै खुसी भएका बताउनुभयो । तीन वर्षअघि आधा भत्किएको तटबन्ध ठूलो बाढी आउनेबित्तिकै पूरै भत्केर आधा दर्जन गाउँ डुब्ने खतरा थियो । विसं २०७१ को बाढीपछि राप्ती नदीले धार परिवर्तन गरेपछि खल्ला झगडियालगायत दर्जनौँ गाउँ डुबानको जोखिममा पर्दै आएका थिए । 

यस वर्ष जनताको तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि आपत्कालीन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी बाढीको त्रासबाट मुक्त भएका छन् । रु छ करोड ५० लाख लागतमा पक्की तटबन्ध निर्माण गर्ने ठेक्का अनुसार बस्तीलाई डुबानबाट जोगाउन पहल थालिएको जनातको तटबन्ध कार्यालय लमही (दाङ)ले जनाएको छ ।  

कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीले खल्ला झगडिया र जरैयामा आपत्कालीन तटबन्ध बनाएर यस वर्ष डुबानबाट हुनसक्ने जोखिम न्उूनीकरणको पहल थालिएको उल्लेख गर्दै वर्षापछि स्थायी तटबन्ध निर्माण प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । उहाँले यस्तो प्रविधि पूर्वी नेपाल र पश्चिम राप्ती नदीमा पनि प्रयोग गरिएको भन्दै यो प्रविधिमा खर्च पनि कटौती हुने बताउनुभयो । 

“हामीले ‘बेम्बोपाइलिङ र कङ्क्रिट प्रकुपाइन’लाई एकीकृत रूपमा प्रयोग गरेका छौँ”, डा. सुवेदीले भन्नुभयो । अनुसन्धानका लागि पनि तटबन्ध निर्माणका क्रममा नयाँ अभ्यास भएको जानकारी दिँदै उहाँले आफूहरूसँग सिकेर भारतले समेत यस्तो प्रविधिबाट तटबन्ध बनाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार आपत्कालीन तटबन्धमा बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा, जाली र सिमेन्टको पोल प्रयोग गरिएको छ ।  

स्थानीयवासी दुर्गा पाण्डेले आपत्कालीन तटबन्ध बनेकाले वर्षामा गाउँ डुबानमा नपर्ने विश्वास बढेको बताउनुभयो । खल्ला झगडियामा निर्माण भएको तटबन्धका कारण देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिका-६ को सोनवर्षा, कुदरवेटवा, गङ्गापुर, भगवानपुर र वडा नम्बर ५ को नवाजीगाउँ, भोजपुर तथा डुडुवा गाउँपालिका-१ को कुडवागाउँ लाभान्वित हुनेछन् ।  रासस