• १६ साउन २०८२, शुक्रबार

जाजरकोट–जुम्ला सडक कालोपत्रे

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, साउन १५ गते । जाजरकोट–पाँचकाटिया–ब्याउलीढुङ्गा हुँदै जुम्ला जोड्ने सडक कालोपत्रे भएको छ । जाजरकोट सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–४, गैरीखाली–पाँचकाटिया–ब्याउली ढुङ्गा हुँदै जुम्ला जोड्ने सडक ट्र्याक खुलेको करिब १० वर्षपछि कालोपत्रे भएको हो । 

जाजरकोट–पाँचकाटिया अन्तर्गतको २० किलोमिटर सडकमध्ये १६ किलोमिटर स्तरोन्नति भइरहेको छ । पाँचकाटियादेखि खुर्पासम्म १० किलोमिटर सडक कालोपत्रे गरिएको छ । गैरीखाली–दारखोलासम्म छ किलोमिटर सडक स्तरोन्नतिको काम वज्र ग्रुपले २०७८ भदौ १८ गते आठ करोड २७ लाखमा सम्झौता गरेको थियो । अहिले २०८२ चैत ३० सम्म कालोपत्रे गर्न पुनः म्याद थप गरेको छ । दारखोला पाँचकाटिया १६ किलोमिटर सडक स्तरोन्नतिका लागि बानियाँ सिंह एन्ड ब्रदर्स बानियाँ जेभीले २०७८ चैत १८ गते २४ करोड ६७ लाख रुपियाँमा सम्झौता गरेको थियो । दुई पटक म्याद थपेको सो निर्माण कम्पनीले रकम अभावका कारण २०८२ चैत ८ गतेसम्म म्याद थपेपछि धमाधम काम भइरहेको छ । पाँचकाटिया–ब्याउली ढुङ्गा सडकखण्ड अन्तर्गत १० किलोमिटर सडक ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिले २०८२ साउन २७ गते सम्पन्न गर्ने गरी २०७८ माघ २८ गते ३५ करोड १५ लाख २५ हजार रुपियाँमा सम्झौता गरेको थियो । 

कार्यालयसँग गरेको सम्झौता अनुसार १० किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माका अनुसार सरकारले तोकेको मापदण्ड अनुसार कालोपत्रे गरेको बताउनुभयो । सरकारले कम लगानीमा राम्रो प्रतिफल दिने पहाडी क्षेत्रमा डिबिएसपीको कालोपत्रे गरेको छ । केही दिनअघि सामाजिक सञ्जालमा गुणस्तरहीन काम भएको भनी गुनासो आएपछि सरोकारवाला निकायले संयुक्त अनुगमन गरेको छ ।