• १६ साउन २०८२, शुक्रबार

गौर–गङ्गापिपरा सडक कालोपत्रे हुँदै

blog

कालोपत्रे हुँदै गौर–गङ्गापिपरा सडक । तस्बिर : प्रवीणकुमार शर्मा

चन्द्रपुर समाचारदाता 

चन्द्रपुर (रौतहट), साउन १५ गते  । रौतहटको गौर–गङ्गापिपरा सडकखण्डमा कालोपत्रे गर्ने कार्य तीव्र गतिमा थालिएको छ । गौर नगरपालिका–८, हनुमान मन्दिरदेखि माधवनारायण नगरपालिका–७, कुशवाहा चोकसम्म सडक कालोपत्रेको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी इन्जिनियर शिवनारायण साहले जानकारी दिनुभयो  । 

उक्त सडकखण्ड कालोपत्रेका लागि साह निर्माण सेवा मलङ्गवा, सर्लाहीसँग कार्यालयले २०७९ असार १७ गते सम्झौता गरेको थियो । १२ किलोमिटर सडक कालोपत्रेका लागि २० करोड ५० लाख ८६ हजार रुपियाँमा ठेकेदारले सम्झौता गरे पनि सम्झौता अवधि २०८१ भदौ १० गतेसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्र रहेको थियो ।

ठेकेदारले भेरिएसनका लागि निवेदन दिएको र भेरिएसन सदर नभएकाले कामले गति लिन सकेको थिएन । भेरिएसन सदरपछि उक्त सडक कालोपत्रेबापत ठेकेदारले २३ करोड पाँच लाख ४३ हजार रुपियाँ पाउने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर साहका अनुसार हाल निर्माण तीव्र गतिमा भइरहेको तथा साढे आठ किलोमिटर सडक कालोपत्रे भइसकेको बताउनुभयो । १० मिटर चौडाइ रहेको सडकको हालसम्मको  भौतिक प्रगति ८० प्रतिशत तथा वित्तीय प्रगति ७५ प्रतिशत रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी साहले बताउनुभयो । म्याद थपपछि २०८२ चैत ३१ गतेसम्म कालोपत्रे गर्ने समयसीमा रहे पनि २०८२ असोज मसान्तसम्म काम सक्ने निर्माण कम्पनीका चन्दन जयसवालले बताउनुभयो ।

सडक कालोपत्रे गर्न कैयौँ घर भत्काउनु परेका कारण तथा विकास विरोधी केही तìवले केही ठाउँमा अवरोध पु-याएका कारण गौर–गङ्गापिपराका जनताले केही समय सास्ती खेप्नु परे पनि अब केही दिनमै आवागमन सहज हुने मधेश प्रदेश सभा सदस्य नागेन्द्र साहले बताउनुभयो । सडक फराकिलो बनाउँदै आवश्यक रहेको छ स्थानमा ह्युम पाइपसहितको कलभर्ट निर्माण गरिएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ । 

सडक जीर्ण हुँदै गएका कारण गौर–गङ्गापिपरा सडक भएर यात्रा गर्नसमेत असहज भएको अवस्था समाप्त भएको राजदेवी–१ का मनोजप्रसाद यादवले बताउनुभयोे । दुर्गाभगवती–५, बडहर्वासम्म  सडक कालोपत्रेको काम सकेपछि स्थानीय सञ्जय सिंहले कालोपत्रे सडकका कारण यातायात मात्र सहज नभएर गाउँको मुहार नै फेरिएको बताउनुभयो ।