• १६ साउन २०८२, शुक्रबार

हात्ती नियन्त्रण गर्न तीनै तहको सरकारसँग माग

blog

जङ्गली हात्ती । फाइल तस्बिर

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन १५ गते ।
नेपाली कांग्रेस रौतहट जिल्लाका कोषाध्यक्ष एवम् महासमिति सदस्य सरस्वती गिरीले जङ्गली हात्ती नियन्त्रण गर्न तीनै तहका सरकारसँग माग गर्नुभएको छ ।

चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका बासिन्दा जङ्गली हात्तीको आतङ्कबाट आतङ्कित रहेपनि  सरकारले चासो नलिएको भन्दै नेत्री गिरीले तत्काल समस्या समाधानको लागि माग आग्रह गर्नुभएको हो ।

नेपाली कांग्रेस पार्टी कार्यालय गौरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले हात्ती नियन्त्रणमा लिई अन्यत्र नसारिए यसले ठुलो धनजन र मानवीय क्षति समेत हुन् सक्ने भएकाले सरकार यस प्रति संवेदनशील हुनुपर्ने बताउनुभयो ।

हात्तीले दिनहुँजसो कुनै न कुनै घरमा क्षति पुर्याउँदै आएको बताउनुुहुन्दै उहाँले मानविय क्षति हुन नदिन स्थानीय रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।

नियम, कानुन, कार्यविधि, मापदण्डको बहाना बनाइ हात्ती नियन्त्रण नगर्नु क्षम्य नरहेको बताउनुहुँदै नेत्री गिरीले कानुन निर्माण गर्ने काम जनप्रतिनिधिकै रहेकाले तत्काल त्यस तर्फ चासोका साथ काम नगरे जनताको मतको कदर नहुने जिकिर गर्नुभयो । 
हात्ती आतङ्कबारे डिभिजन वन कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि कार्यालयले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

असनवा टोलका स्थानीय रमेश आचार्यले  हात्ती नियन्त्रणमा डिभिजन वन कार्यालय  उदासीन रहेको गुनासो गर्नुभयो । हात्तीका कारण २४ घण्टा त्यसमै ध्यान केन्द्रित रहेकाले अन्य काम समेत प्रभावित भएको दुखेसो उहाँले पोख्नुभयो ।

स्थानीयले केहि दिन अघि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर घेराउ गर्दै तत्काल हात्ती नियन्त्रणमा लिनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दीर्घकालीन समाधानका लागि ठोस रणनीति ल्याउनुपर्ने माग राखे पनि कार्यालय समस्या समाधान तर्फ कुनै पहल नगरेको पुलामी टोलका स्थानीय होम बहादुर सिंजाली मगरले गुनासो गर्नुभयोे ।

चन्द्रपुर –२ जुडिबेलाका वडा अध्यक्ष दुत्तबहादुर थिङ्गका अनुसार हात्तीले हालसम्म कैयौं घर भत्काइसकेको तथा किसानको बाली ठुलो परिमाणमा नष्ट गरेकाले नियन्त्रण गर्न कुनै ढिलासुस्ती गर्न नहुने जोडदार रुपमा माग गर्नुभयो ।

हात्ती एक ठाउँबाट आर्को ठाउँमा सार्नेसम्बन्धी कानुनको अभावका कारण अन्यत्र सार्न नसकिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।