काठमाडौँ, साउन १४ गते । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । गत असार महिनामा मात्र केन्द्रले ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्रले इतिहास रच्न सफल भएको भन्दै आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले १८६ जनाको मिर्गौला र आठ जनाको कलेजो प्रत्यारोपण सफलतासाथ सम्पन्न गरेको बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा तीन, पोखरामा तीन र भेरी अस्पतालमा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको पनि जानकारी दिनुभयो ।
प्रत्यारोपण गराउनेमा युवा अधिक
डा. श्रेष्ठका अनुसार उमेर समूह अनुसार केन्द्रमा मिर्गौला प्रत्यारोपण भएका बिरामीको उमेर समूह १४ देखि ७१ वर्षसम्मको रहेको जानकारी गराउनुभयो । उहाँले हालसम्म प्रत्यारोपण गराउनेमा १५५ जना अर्थात् ८० प्रतिशत २० देखि ४९ वर्षको रहेको बताउनुभयो । केन्द्रका अनुसार १५ देखि १९ वर्षका ६ जना, २० देखि २९ वर्षका ४७ जना, ३० देखि ३९ उमेरका ५८ जना, ४० देखि ४९ उमेरका ४५ जना, ५० देखि ५९ उमेरका २६ र ६९ उमेरका तीन जनाको प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।
यस्तै मिर्गौला ग्रहणकर्तामध्ये १३६ जना पुरुष (७३ प्रतिशत) र ५० जना महिला (२७ प्रतिशत) छन् । यसै गरी अङ्गदातामा १३० जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष (३० प्रतिशत) छन् । जसबाट अङ्ग प्रत्यारोपणमा अझै लैङ्गिक भेदभाव देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सरकारमातहत रहेको प्रत्यारोपण केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपणमा उल्लेख्य सफलता हासिल गरेको जानकारी दिनुभयो । उहाँले प्रत्यारोपण केन्द्रलाई जग्गा व्यवस्थापन गराउन सक्ने हो भने केन्द्रले गर्ने काम अझ बढ्ने बताउनुभयो । हाल केन्द्रसँग एक इन्च पनि जग्गा र भवन छैन । हाल भक्तपुर अस्पतालको एक भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ ।
यस्तै केन्द्रमा देशको विभिन्न भू–भागबाट विभिन्न जातजाति प्रत्यारोपणका लागि आउने गरेका छन् । तीमध्ये आदिवासी जनजाति सबैभन्दा धेरै ५२ प्रतिशत, ब्राह्मण क्षेत्री २६ प्रतिशत, मधेशी ११ प्रतिशत, दलित ९ प्रतिशत, मुस्लिम २ प्रतिशतको प्रत्यारोपण भएको छ ।
पन्ध्र सयले गरे मिर्गौला प्रत्यारोपण
केन्द्र स्थापनाको १३ वर्ष अवधिमा हालसम्म एक हजार ४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । नेपाल सरकारको सात वटै प्रदेशमा मिर्गौल प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार केन्द्रले चार वटा प्रदेशमा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ । कार्यकारी निर्देशक डा. श्रेष्ठले बागमती, गण्डकी, कर्णाली, लुम्बिनीमा प्रत्यारोपण सुरु गरेको केन्द्रले बाँकी तीन वटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको बताउनुभयो ।
प्रतिष्ठान बनाउने योजना
डा. श्रेष्ठले प्रत्यारोपणका लागि आवश्यक विशेषज्ञ जनशक्ति तालिम दिनका लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्रले ५०० शय्या क्षमताको भवन बनाउने योजना अलपत्र परेको बताउनुभयो ।
उहाँले उपयुक्त जग्गा उपलब्ध भएमा केन्द्रले आफ्नै स्रोत साधनबाट भवन बनाई बर्सेनि पाँच सय जनासम्मको मिर्गौला प्रत्यारोपण गर्न सकिने बताउनुभयो । उहाँले जसबाट देशको अर्बौं रुपियाँ बचत हुनेसमेत जानकारी दिनुभयो ।