• १३ साउन २०८२, मङ्गलबार

वीरको १३६ वर्ष

निःशुल्क उपचारका लागि खोलिएको अस्पताल

blog

काठमाडौँ, साउन १३ गते । नेपालको सबैभन्दा पुरानो वीर अस्पताल १३६ वर्ष पुगेको छ । १९४६ साउन १२ गतेका दिन १५ शय्याबाट सेवा प्रारम्भ गरेको नेपालकै जेठो र गौरवशाली इतिहास बोकेको यो अस्पतालले आधारभूतदेखि विशेषज्ञ तथा अति विशिष्टीकृत सेवा प्रदान गर्दै आइरहेको छ ।

 हाल ९६० शय्या सञ्चालनमा रहेको अस्पतालमा पहिलो पटक नेपालमा मुटुको शल्यक्रिया, मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरी तथा सघन उपचार सेवा सुरु गरिएको थियो । वीरशमशेरले अस्पतालको उद्घाटनमा भन्नुभएको थियो, “काठमाडौँको रानीपोखरीनिर अस्पताल खोलिएको छ । औषधी नहुँदा रैतीले साह्रै दुःख पाउने रहेछन्, त्यसैले अस्पतालको स्थापना गरेको हुँ । रैतीले दुनियाँको एक पैसा खर्च नभई औषधी गर्न पाउने छन् ।” 

उहाँले भन्नुभएको थियो, “बेरामीका हिफाजतलाई जो चाहिन्या भान्छे, नोकर चाकरहरूको पनि बन्दोबस्त गरी खाना पिन्या सरजाम, सुत्न्या पलङ बिछ्यौना गैह्र दुरुस्त । केही कुरामा कमी छैन । बेरामी लाई हिफाजत साथ रोज खाना पिनालाई चाहिन्या सरजामसमेत तयार छ ।”

वीरशमशेरले रैतीका लागि अस्पताल बनाउन काठमाडौँका दातासँग ४८ रोपनी जग्गा मागेर अस्पताल बनाउनुभएको थियो । नेपालमा वीर अस्पतालको स्थापनासँगै आधुनिक औषधी विज्ञानको सेवा सुरु भएको हो । वीर अस्पतालको स्थापना वीरशमशेरले गर्नुभएको हो । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले अस्पतालले तुलनात्मक रूपमा सस्तो, गुणस्तरीय र दक्ष जनशक्तिमार्फत सेवा प्रदान गर्दै आइरहेको जानकारी दिँदै अन्य सरकारी अस्पतालभन्दा अग्रस्थानमा आफूलाई राखेर जनताको मन जित्न सफल भएको बताउनुभयो । 

उहाँले स्वास्थ्य सेवाका अतिरिक्त वीर अस्पताल चिकित्सा शिक्षा र अनुसन्धानको केन्द्रका रूपमा समेत स्थापित भइसकेको जानकारी दिनुभयो । उहाँले २०६३ मङ्सिर १७ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन जारी भएसँगै संस्थाले स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । निर्देशक शर्माले राष्ट्रलाई दक्ष र योग्य चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो । अस्पतालमा हालसम्म बिरामीलाई निःशुल्क खाना दिने प्रचलन कायम छ । 

वीर अस्पतालबाटै थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पताल, मानसिक अस्पताल पाटन र कान्तिबाल अस्पताल पनि विस्तार गरिएको हो । वीर अस्पतालमा स्थान अभाव भएपछि सन् १९५९ मा वीरको प्रसूति विभाग थापाथलीमा सारेर इन्द्रराज्यलक्ष्मीदेवी शाह प्रसूतिगृह बनाइएको थियो । 

यसै गरी वीर अस्पतालमा नेपालमै पहिलो पटक सन् १९६१ मा सुरु गरिएको मानसिक रोगको क्लिनिक विभाग हुँदै सन् १९८५ मा मानसिक अस्पतालका रूपमा लगनखेलमा सारिएको थियो । यस्तै बालरोग विभागलाई सन् १९६३ मा कान्तिबाल अस्पतालमा सारिएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पनि २०३४ सालमा सरुवा रोग अस्पताल हुनुअघि वीर अस्पतालको सरुवा रोग युनिटमा सीमित रहेको थियो । 

१३६ वर्षमा वीर अस्पताल

यसैबिच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशको समग्र स्वास्थ्य उपचारको स्थिति वीर अस्पतालबाट सुरु भएको बताउनुभएको छ । उहाँले यो अस्पतालमा सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रमा सुधार गर्न सकिने बताउनुभयो । सोमबार अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था हेर्नलाई वीर अस्पताल आए पुग्ने बताउनुभयो । 

उहाँले वीरलाई आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले हदैसम्मको प्रयास गरेको जानकारी गराउनुभयो । उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने छ भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताउनुभयो ।  उहाँले भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बिमा रकम भुक्तानी भइसक्ने पनि बताउनुभयो । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई भक्तपुरस्थित दुवाकोटमा रहेको जग्गामा सार्नुपर्ने बताउनुभयो । त्यसका लागि सरकारको सहयोग आवश्यक पर्ने बताउनुभयो । अस्पतालका निर्देशक प्राडा दिलीप शर्माले अस्पतालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्दै एक वर्षमा छ लाख ४७ हजार २१५ जनाले उपचार लिएको बताउनुभयो । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।