जाहेदान, इरान, साउन १० गते । इरानको दक्षिणपूर्वी सिस्तान-बलोचिस्तान प्रान्तको राजधानी जाहेदानमा शनिबार न्यायालय भवनमा भएको सशस्त्र आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच सर्वसाधारण र तीन आक्रमणकारी रहेका छन् ।
इरानको सरकारी समाचार संस्थाहरूका अनुसार, आक्रमणकारीहरूले पाहुनाका रूपमा भेष बदली न्यायालय भवनभित्र पसेका थिए । उनीहरूले भवनभित्र हातहतियार चलाउनुका साथै विस्फोटक पदार्थ पनि प्रयोग गरेका थिए । आक्रमणमा एक वर्षको बालक र उनकी आमाको ज्यान गएको छ । सैन्य तथा सुरक्षासम्बन्धी निकायहरूका अनुसार, उक्त आक्रमणमा १३ जना घाइते भएका छन् ।
केहीको अवस्था गम्भीर रहेकाले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ । सैन्य सङ्गठन इस्लामिक क्रान्तिकारी सुरक्षा बलका अनुसार, आक्रमणमा संलग्न तीन जना सशस्त्र व्यक्ति सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका छन् । यो घटनाको जिम्मेवारी पाकिस्तानमा आधारित र इरानमा पनि सक्रिय रहेको बलोच सशस्त्र समूह ’न्यायको सेना’ (जैश अल अदल) ले लिएको जनाइएको छ । रासस/सिन्ह्वा