• ११ साउन २०८२, आइतबार

श्रमदान गरेरै गाउँले जोगाए बालुवाको बस्ती

blog

बस्ती जोगाउन तटबन्धन गर्दै स्थानीय । तस्बिर : गोरखापत्र

गोकर्ण पौडेल

तुलसीपुर, साउन १० गते । जेठको अन्तिमतिर घोराही तुलसीपुर सडकखण्डको ग्वार खोलामा नयाँ पुल निर्माण सुरुवात भयो ।

पुल निर्माणकै क्रममा निर्माण कम्पनीले पुल निर्माण पहिलेको कजवे भत्काएर त्यहाँ पिलर ठडाए । पिलर त ठडियो, तर बालुवा टोलका बासिन्दाको मन भत्कियो । 

कजवेदेखि उत्तरतर्फ भरिएको बालुवा सबै बगाएर बस्ती नजिकै थुपारिदियो । बालुवाबस्ती ठुलो बाढी आए बस्तीमै बाढी पुग्ने जोखिम बढ्यो । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८का वडाध्यक्ष माधव वलीकै नेतृत्वमा शुक्रबारमात्रै त्यस क्षेत्रका अस्थायीरूपमै भएपनि श्रमदान गरी तटबन्धन सम्पन्न भएको छ । 

वडाध्यक्ष वलीका अनुसार तटबन्धनका लागि आवश्यक पर्ने तारजालीको प्रबन्ध भू जलाधार कार्यालय तुलसीपुरले गरेको थियो । वलीले भन्नुभयो– तत्कालका लागि समस्या टरेको छ, गाउँलेको श्रमदानबाट तटबन्धनको काम सकेका छौँ । 

वलीले त्यस क्षेत्रमा जोखिम बढ्ने भन्दै पटक पटक प्रमुख जिल्ला अधिकारीलाई समेत त्यस क्षेत्रमा थुप्रिएको बालुवा हटाउन अनुरोध गरेको बताउनुभयो । 

बालुवा टोल विकास संस्थाका सचिव ओमप्रकाश भट्टराईले त्यस क्षेत्रका रहेका एक सय ३५ घर तटबन्धन सकिएपछि सुरक्षित रहेको बताउनुभयो । उहाँले शुक्रबार मात्रै त्यस क्षेत्रका एक सय ३५ जनाले श्रमदान गरी तटबन्धनको काम सकिएको बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका माधव वलीले पालिकाले त्यस क्षेत्रमा निर्माण गरेको हाट बजार टहरासमेत तटबन्धन पछि सुरक्षित रहेको बताउनुभयो । पालिकाले स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्रीका लागि टहरा निर्माण गरेको वलीले बताउनुभयो ।