काठमाडौँ, साउन १० गते । नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्डको २२औँ संस्करण पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको हो ।
अवार्डको आयोजनाका लागि आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्वन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा मञ्चकातर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गर्नुभयो ।
विगत १७ वर्षदेखि नियमित रुपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले पाँच वर्षको सम्झौता थप गरेको हो । सम्झौताअनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपियाँ बराबरको प्रायोजन गर्नेछ।
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको बताउनुभयो ।
एनएसजेएफका महासचिव अन्जन खड्काले यस वर्ष पनि स्पोर्ट्स अवार्डमा १० विधा समावेश गरिएको जानकारी दिनुभयो ।
स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधा रहेको छ।
जसमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी पाँच विधाका खेलाडीले पल्सर मोटर साइकल प्राप्त गर्नेछन् । त्यस्तै स्पेशल, लाइफटाइम अचिभमेन्ट, टिम अफ दि इयर र पारा एथलेट सम्मानका विजेताले एक लाख रुपियाँ प्राप्त गर्नेछ।
मञ्च र गोल्छा ग्रुपबिच अवार्डकै लागि सहकार्य भएको यो १७औँ वर्ष हो। गोल्छा समूहका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले १७ वर्षको यो सहकार्य नेपालकै लामो साझेदारीमध्ये एक भएको बताउनुभयो ।
गतवर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठले अवार्ड जित्नुभएको । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जित्नुभएको थियो ।
स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट सङ्घका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको थियो ।
एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई टिम अफ दि इयरबाट सम्मानित गरिएको थियो ।