हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन १० गते । मुस्ताङको लोमान्थाङ गाउँपालिकाले प्रत्येक घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गरेको छ । दाउराको चुलो र ग्यास सिलिन्डरबाट मुक्त बनाउने अभियान अन्तर्गत वडा कार्यालयमै पुगेर इन्डक्सन चुलो वितरण गरेको हो ।
केन्द्रीय विद्युत् प्रशारण पुगेसँगै गाउँपालिकाभित्र बसोवास गर्ने झण्डै चार सय ८० घरधुरीलाई लक्षित गरी पहिलो चरणमा आर्थिक अवस्था कमजोर, अपाङ्गता र ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको थियो । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार आर्थिक वर्ष २०८१–८२ का दुई सय १० घरधुरीलाई दिइएकोमा यस आव २०८२–८३ को साउन महिनामै दुई सय ६० जनालाई वितरण गरिने छ ।
अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिका बारेमा पनि जानकारी गराएका छौं, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्छ ।’’ लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै अहिले पनि नियमित दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ ।
स्थानीय पेम्बा गुरूङले गाउँपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्यास खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झबाट मुक्त भएको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले राम्रोसँग चलाउन सकेमा करिब ५ वर्षसम्म टिकाउन सकिने भएकाले वडा तहमा हुने विभिन्न कार्यक्रममा मर्मत तथा प्रयोगका विधिलाई समेत आगामी दिनमा निरन्तरता दिने बताउनुभयो । गाउँपालिकालाई धुँवारहित पालिका बनाउन सकिने र इन्डक्सन चुल्होको प्रयोगबाट विद्युतीय महशुल समेत धेरै महँगो नहुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले बताउनुभयो ।
गाउँपालिकामा अधिकांश सानो परिवार भएकाले पनि इन्डक्सन चुल्होले खाना पकाउन सहज हुने बताइएको छ । एउटा इन्डक्सन चुल्होलाई ३५ सय रुपियाँ पर्छ ।