• १२ वैशाख २०८१, बुधबार

डिजिटल बोर्डको प्रभाव

blog

हिजोआज राजधानीलगायत देशका मुख्य सहरमा विद्युतीय विज्ञापन बोर्ड अर्थात् डिजिटल बोर्डका माध्यमबाट सेवा तथा वस्तुको बजार प्रवद्र्धनमा निकै वृद्धि भएको पाइन्छ । विज्ञापन प्रविधिको विकाससँगै बजार प्रवद्र्धन वा विज्ञापनका लागि विभिन्न नयाँ किसिमका माध्यम प्रयोगमा आउनु स्वाभाविकै हो । डिजिटल बोर्डलाई पनि यसैको पछिल्लो नमुनाका रूपमा लिनुपर्छ । विश्वका विभिन्न ठूला सहरमा समेत डिजिटल बोर्डबाट विज्ञापन गर्ने अभ्यासले निरन्तरता पाइरहेका नै छन् । नेपालमा यसको प्रयोग क्रमशः बढ्दो क्रममा छ ।

कुनै नयाँ चिज, वस्तु वा सेवा प्रयोगमा ल्याइनुअघि त्यसको अध्ययन हुनु जरुरी हो । नयाँ प्रयोगको फाइदा र बेफाइदाको समीक्षा आवश्यक हुन्छ । कुनै नयाँ अभ्यासको फाइदासँगै कमीकमजोरी हुने नै गर्छ । यावत् पक्षबाट अध्ययन, अनुसन्धान गरिनुपर्छ । अध्ययन, अनुसन्धान गरेपछि मात्र त्यसको प्रयोगले दिगोपन पाउन सक्छ । अध्ययन, अनुसन्धानबिना गरेको कामबाट समयक्रमसँगै विभिन्न खाले प्रश्न तथा समस्या उठ्न सक्छन् ।

नेपालमा डिजिटल बोर्डका माध्यमबाट विज्ञापन गर्नु केही समयअघिसम्म पनि नौलो तथा रमाइलो घटनाका रूपमा लिइने गरिन्थ्यो तथापि सम्बन्धित अधिकारीले यसका कारण उत्पन्न हुनसक्ने जोखिमको आकलन नै नगरेको हुनसक्छ । त्यतातिर ध्यान नै नपुगेका कारण सहर बजारमा यस्ता डिजिटल विज्ञापन बोर्ड छ्यापछ्याप्ती रूपमा देखिन थालेको प्रतीत हुन्छ । त्यो पनि बिनानियमन अव्यवस्थित तवरले जहाँ सजिलो देखियो, त्यहीँ राख्ने प्रवृत्ति देखिन थालेको छ । यस खालका डिजिटल बोर्डको विस्तार कुनै पनि दृष्टिकोणबाट उपयुक्त मान्न सकिँदैन । 

अब क्रमिक रूपमा यस्ता बोर्डले जनस्वास्थ्य तथा सडक गतिविधिमा पार्न सक्ने प्रभावका सम्बन्धमा सचेतता विस्तार हुनु आवश्यक छ । यसका अतिरिक्त विभिन्न आयामबाट प्रश्न उठ्न थालेका पाइएको छ । यस किसिमको सचेतता समग्रमा जनहितका लागि सकारात्मक विषय हुन् । विशेषतः यी डिजिटल बोर्डमा विभिन्न रङ्गीचङ्गी विद्युतीय प्रकाशको अति नै बढी प्रयोग भएको हुन्छ ।

यसैका कारण सडकमा गुड्ने हरेक सवारीसाधनका चालक बढी प्रभावित हुन सक्ने तथ्यलाई नकार्न सकिँदैन । यसबाट चालकको ध्यान एकीकृत हुन नसकी सडकमा सवारी दुर्घटनाको सम्भावना पनि त्यत्तिकै हुन्छ । यसबाहेक सडकमा हिँड्ने बटुवा पनि यी चर्का रङ्गीचङ्गी प्रकाशका प्रभावबाट प्रभावित हुन्छन् नै । बटुवा र वरपर घरवास हुनेको आँखामा प्रतिकूल असरसमेत पर्ने कुरालाई नकार्न सकिन्न ।

मानिसको दृष्टिमा पर्ने असरबारे आम मानिसको भनाइ मात्र होइन, विशेषज्ञले समेत त्यतातिर ध्यान दिएको पाइएको छ । मुलुकका प्रसिद्ध आँखा विशेषज्ञले पनि डिजिटल बोर्डबाट निस्किएका प्रकाशबाट अप्रत्यक्ष रूपमा आँखामा निकै प्रभाव पर्ने राय दिएको पाइन्छ । यसबाट निस्कने प्रकाशबाट बच्न निकै सचेत हुनुपर्ने औँल्याइरहेको परिप्रेक्ष्यमा यससम्बन्धमा सचेतता तथा निगरानी अत्यावश्यक भसकेको छ ।

सरोकार निकायले अब ध्यान दिने बेला भइसकेको छ । हुन पनि कुनै रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी ठहर्छ । हाम्रो प्रवृत्ति भने अलि बेग्लै छ । रोग लागेपछि मात्रै उपचारमा जोड दिइएको पाइन्छ । बढी भीडभाड हुने बजार, चोकमा राखिने यी डिजिटल बोर्ड दुर्घटनाका कारक तìव हुनसक्नेमा कसैको सन्देह छैन तथापि ट्राफिक प्रहरीजस्ता निकायबाट ठूलो प्रतिक्रिया देखिएको छैन । ठूलै सडक दुर्घटना नभएसम्म सम्बन्धित निकाय नचेत्ने खालको प्रवृत्ति नहुँदा राम्रो हो ।

विज्ञापन शैलीका विभिन्न नकारात्मक पक्ष हुँदाहुँदै पनि डिजिटल विज्ञापन बोर्ड प्रविधिको नवीन प्रयोग भएकाले यसलाई सहर बजारमा वर्जित नै गर्न भने उपयुक्त हुँदैन बरु आवश्यक नियमन गर्नु जरुरी हुन्छ । नियमनका लागि कार्यविधि आवश्यक होला, नियम तथा कानुन आवश्यक हुँदै हो । यसखाले बोर्ड कहाँ, कसरी, कुन तरिकाले राख्ने, यसले सहरको शोभालगायतका विषयमा पार्न सक्ने प्रभावका बारेमा विस्तृत अध्ययन, अनुसन्धान गरेर मात्रै अगाडि बढ्न सकिएला ।

स्थानीय सरकारले राजस्वको राम्रो स्रोतका रूपमा मात्र यस्ता विषयवस्तुलाई सीमित राख्नु राम्रो हुँदैन । नवीन प्रविधि प्रयोगमा आएपछि त्यसका आयाम समेट्ने कानुनी काइदा बन्नुपर्छ । प्रविधिको प्रयोगले व्यवसायको पनि प्रवद्र्धन होस् र जनसाधारणको जीवनमा पनि प्रतिकूल प्रभाव नपरोस् ।