• ७ साउन २०८२, बुधबार

इस्मामा शुद्ध पानी खुवाउन ‘एक घर एक फिल्टर‘ अभियान सुरु

blog

इस्मामा ‘एक घर एक फिल्टर‘ अभियान सुरु हुँदै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, साउन ७ गते ।
गुल्मीमा ‘एक घर एक आरो फिल्टर’ अभियान सुरु भएको छ । इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले इस्मा गाउँपालिका–५ इस्मा रजस्थलका खिमबहादुर बस्नेतलाई फिल्टर प्रदान गरेर इस्माली समाज युएईको यो अभियानको शुभारम्भ गर्नुभएको हो ।

उहाँले परदेशबाट पनि गाउँका स्थानीयलाई शुद्ध पिउने पानी खुवाउने पवित्र अभियानका लागि आयोजकलाई आभार प्रकट गर्नुभयो । यो अभियानलाई सहयोग र सहजीकरणको लागि आफुहरुले नीतिमा समेत उल्लेख गरेकाले इस्माली समाज युएईले सामाजिक विकासको क्षेत्रमा महत्त्वपूर्ण काम अगाडि बढाएको कुँवरले बताउनुभयो ।

इस्माली समाजले शुद्ध पिउने पानीको पहुँच प्रत्येक घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थानसम्म पुर्‍याउने उद्देश्य राखेको छ । संस्थाले विशेष छुटमा चौधरी ग्रुपको गुणस्तरिय आरो फिल्टर इस्माका हरेक घर र सस्थामा एउटा राख्ने योजना रहेको इस्माली समाज युएईका अध्यक्ष मान बहादु कुँवरले बताउनुभयो ।

उहाँले इस्मा गाउँपालिकाका अधिकांश विद्यालयहरु, स्वास्थ्य चौकी, कार्यालयहरु र स्थानीय घरधुरीहरुमा अझै पनि स्वच्छ पिउने पानीको सुविधा अभाव रहेकाले अभियानको सुरुवात गरिएकोले सवैको सहयोग र सद्भावको अपेक्षा गर्नुभयो । प्रदुषित खानेपानीका कारण मानव स्वास्थ्यमा ठुलो असर परेको हुन्छ । अधिकांश रोग पानीकै कारण लाग्ने भएकाले संस्थाले नागरिकलाई स्वच्छ पानीको पहुँच अभिवृद्धि गर्ने खेलेको भूमिका स्वागतयोग्य रहेको फिल्टरको प्राविधिक काम गरिरहेको चौधरी ग्रुपका बायो इन्जिनीयर गणेश प्रसाद पौडेलले बताउनुभयो ।

उहाँले फिल्टरको प्राविधिक प्रयोग र उपयोगीताको बारेमा सहजीकरण गर्नुभएको थियो । इस्माली समाज युएई इस्मा गाउँपालिकाबाट युएईमा काम गर्नेहरुको संस्था हो । गत वर्ष स्थापना भएको संस्थाले  बालबालिकाको स्वास्थ्य, शिक्षा र समुदायको समग्र जीवनस्तर सुधार गर्ने लक्ष्यका नयाँ अभियान सुरु गरेको इस्माली समाज युएईका महासचिव मनोज ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार अहिले पहिलो चरण ६५ वटा फिल्टर वितरण र जडान हुनेछ ।

उहाँले प्रत्येक वडाका विद्यालयहरुमा विद्यार्थी सङ्ख्या, भौगोलिक अवस्था र आवश्यकता अनुसार प्राथमिकता दिइने बताउनुभयो । गाउँपालिकाका सबै छ वटा वडाको वडा कार्यालय, गाउँपालिका कार्यालय र स्वास्थ्य चौकीहरुमा समेत फिल्टर जडान गरिने छ । ज्ञवालीका अनुसार इस्मा गाउँपालिकाले होटल तथा रेस्टुरेण्टहरुलाई २५ प्रतिशत छुट दिने निर्णय गरेको रे अभियानमा सहभागी हुने करिब ६० प्रतिशथ लागत चौधरी ग्रुपबाट सहयोग हुनेछ ।