• ७ साउन २०८२, बुधबार

नेपाल साझेदारी रणनीति सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ७ गते । एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि नेपाल साझेदारी नयाँ रणनीति सार्वजनिक गरेको छ । १६ औँ पञ्चवर्षीय योजनासँग तादत्म्य हुने गरी तयार गरिएको उक्त रणनीतिको राजधानीमा मङ्गलबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्नुभएको हो ।  सन् २०२९ सम्मका लागि लागु हुने यो रणनीतिले एडिबीको आगामी प्राथमिकता र लगानी तय गरेको छ । जस अनुसार एडिबीले आगामी पाँच वर्षमा नेपाललाई करिब तीन खर्ब रुपियाँ विकास सहायता उपलब्ध गराउने योजना बनाएको छ । 

रणनीति आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपत् उत्थानशीलतामा केन्द्रित रहेको एडिबीले जनाएको छ । एडिबीले नेपालमा पहिलो पटक विश्व बैङ्क समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो । कार्यक्रममा अर्थमन्त्री पौडेलले नयाँ रणनीतिले १६ औँ योजनासँग तादत्म्य कायम गर्दै समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खास गरी युवाका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने बताउनुभयो । नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाँले राष्ट्रिय साझेदारी रणनीतिले समावेशी, उत्थानशील, हरित र रोजगारी–सघन आर्थिक वृद्धिको बृहत् एजेन्डा तय गर्ने बताउनुभयो ।