काठमाडौँ, साउन ४ गते । मधेश प्रदेशमा मनसुनी न्यूनचापीय प्रणालीले देखाएको अनौठोपनले मौसमविद्हरू नै छक्क पर्न थालेका छन् ।
यस वर्ष जल तथा मौसम विज्ञान विभागले जेठको पहिलो साता मनसुन अवधिभर देशभर सरदरभन्दा बढी वर्षा हुने पहिलो पूर्वानुमान गर्यो । जेठ १५ गते राति नेपालमा मनसुन भित्रियो तर मनसुनको तीन साता बित्दै गर्दा पनि देशव्यापी रूपमा मनसुन पूर्ण रूपमा सक्रिय हुन सकेन । अन्यत्र प्रदेशमा दोहोरिँदै वर्षा भइरहँदा मधेश प्रदेशमा धुलो मार्ने गरी पनि वर्षा भएन ।
त्यसैले विभागले मधेशलक्षित गर्दै असार १७ देखि बाँकी समयको मनसुनी पूर्वानुमानमा सुधार गर्यो । जस अनुसार अन्य प्रदेशको तुलनामा मधेशमा कम वर्षा हुने जानकारी विभागले दियो । अद्यावधिक मौसम अनुसार मधेशमा कम वर्षा हुने सुधारिएको अनुमान अनुसार अहिले मौसमी गतिविधि देखिएको दाबी विभागले गरेको छ । मधेशमा वर्षा हुँदै नहुनेभन्दा पनि कम पर्ने भनिए अनुसार सामान्य वर्षा पनि राम्ररी नभएको स्थानीयले बताएका छन् ।
मौसमको अनौठो व्यवहारले मौसमविद् पनि हैरान भएका छन् । सुरुवाती पूर्वानुमानका क्रममा देखिएका न्यूनचापीय रेखाहरू दिन बित्दै जाँदा नेपालभन्दा अन्तै मोडिँदै जाने गरेका छन् । हरेक तीन दिनको मौसमी बुलेटिन निकाल्दा अघिल्लो दिन देखिएको प्रणालीमा भोलिपल्ट धेरै फरक आइसकेको हुन्छ ।
जस अनुसार फेरि केही दिनअघि राम्रो प्रणाली आयो । अबको केही दिन भने मधेश पानीले भिजाउँछ भन्ने नक्सासहितको पूर्वानुमान आयो । पूर्वानुमान अनुसार आकाशमा बादल त देखियो तर पानी परेन । मौसमविद् शान्ति कँडेलले त्यतिबेला भन्नुभएको थियो, “यस पटक त मधेशमा धान राप्न मिल्ने गरी वर्षा हुन्छ कि ?”अबका तीन दिन पनि मधेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षामा सीमित हुने अनुमान गरिएको छ । विभागका अनुसार साउन ३ गते साँझदेखि ५ गते दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले औँल्याएको छ ।
आगामी तीन दिन कोशी, बागमती र सुदूरपश्चिमका भूभागमा केही राम्रो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कोशी र बागमतीलगायत केही क्षेत्रमा भीषण वर्षा हुने भएकाले नदीनालाको बहाब बढ्ने अनुमान गरिएको छ । मनसुन अझै करिब दुई महिना बाँकी रहेकाले थोरै समयमा धेरै वर्षा हुने र जोखिम बढाउने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।