सुधा देव
भारदह(सप्तरी), साउन २ गते । सप्तरीमा साउन पहिलो सातासम्ममा ७५ प्रतिशत रोपाइँ सकिसक्नुपर्नेमा यसपालि ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । सिँचाइको सुविधा भएको एरिया हनुमाननगर कंकालिनी नगरपालिका, छिन्नमस्ता, तिलाठी कोइलाडी तथा राजगढ गाउँपालिकामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भएपछि औसतमा जिल्लामा ३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
सिँचाइको सुविधा नभएको खेतीयोग्य जग्गामा अहिले पनि रोपाइँ शून्य रहेको स्थानीयहरू बताउँछन् । सिँचाइको सुविधा नभएको क्षेत्रका किसानहरूले आकाशे पानीको मुख ताकेर बस्नुपर्ने बाध्यता छ ।
सोमबारदेखि बुधबार जिल्लामा परेको वर्षाले बीउ र रोपेको धानको तत्काल ज्यान जोगिए पनि खेतमा पानी नभएका कारण धानै रोप्न सक्ने अवस्था नरहेको राजविराज नगरपालिका ६ कि ममता बर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘साउन लागिसक्यो अहिलेसम्म खेती गर्न सकिने पानी नपरेपछि अब धान रोपाइँ होला भन्ने आश किसानहरूमा मरिसकेको छ ।’’
यसपालि सिँचाइ स्रोत बोरिङ, हातेकल, पोखरी नदीलगायतमा पानीको सतह घटेपछि रिचार्ज गर्न आकाशे पानीको विकल्प नभएपछि धान रोपाइँ हुन नसकेको हो । आकाशे पानी परेन भने जिल्लामा खाद्य सङ्कट हुने सम्भावना बढेको कृषि ज्ञानकेन्द्र सप्तरीका कार्यालय प्रमुख किसुनदेव राउतले जानकारी दिनुभयो ।
विगतका वर्षहरूमा जिल्लावासीमा चाहिनेभन्दा २४ हजार मेट्रिक टन बढी धान उत्पादन हुँदै आएको थियोे । बढी भएको धान जिल्लाबाट निर्यात हुँदै आएको पनि यसपालि जिल्लामै खाद्यान्न सङ्कट हुने सम्भावना बढेको उहाँले बनाउनुभयो ।
जिल्लामा कुल कृषि योग्य जग्गा ८१ हजार हेक्टर क्षेत्रफल छ । जसमध्ये ६८ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती भइरहेको छ । जसमध्ये २३ हजार आठ सय अर्थात् ३२ देखि ३४ प्रतिशत जग्गामा मात्र सिँचाइ छ ।