साहारा लिम्बू
फुङ्लिङ, असार २ गते । कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरणहरू जडान सुरु गरिएकाे छ । युनेस्कोले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाडसँगको सहकार्यमा उक्त आधुनिक उपकरणहरू जडान सुरु गरेको हो ।
जैविक विविधताको जानकारी सङ्कलनमा सुधार गर्न र वास्तविक समयको पारिस्थितिकीय अनुगमनलाई सहयोग पुर्याउन आधुनिक वैज्ञानिक विधिहरूलाई आदिवासी ज्ञानसँग एकीकृत गर्ने लक्ष्यका साथ जडान गरिने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो ।
क्यामेरा र जीपीएस उपकरण जडान गर्नुअघि असार २९ र ३० गते फक्ताङलुङ गाउँपालिकाको लेलेपमा दुई दिने क्षमता विकास तालिमको आयोजना गरिएको थियो । फक्ताङलुङको तापेथोक, हेल्लोक र लेलेपमा साउन १ देखि उपकरणहरु जडानको कार्य सुरु गरिएको छ । उक्त कार्य साउन ४ गतेसम्म गरिने अध्यक्ष फेम्बुले जानकारी दिनुभयो ।
तालिमले कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र स्थानीय समुदायको सहभागिता र वातावरणीय पर्यवेक्षणमा संलग्नतालाई प्रोत्साहित गर्नमा केन्द्रित थियो । यसले विद्यालयका विद्यार्थीहरू र अन्य स्थानीय सरोकारवालासहित आदिवासी जनजाति समुदायको जैविक विविधता संरक्षणसम्बन्धी सीपमा सुधार ल्याउन मद्दत गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो ।
सहभागीहरूले आधुनिक वैज्ञानिक उपकरणहरू सञ्चालन तथा स्थापना गर्ने बारे व्यावहारिक अनुभव पनि प्राप्त गरेकाले कार्यक्रम लाभदायक हुने अध्यक्ष फेम्बुको भनाइ छ । तालिमका क्रममा सहभागीहरूलाई बायोस्फियर रिजर्भको अवधारणा बारे पनि जानकारी गराइएको थियो ।
यस सत्रले कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई युनेस्कोको मानव र बायोस्फियर कार्यक्रमअन्तर्गत बायोस्फियर रिजर्भको पदनाम प्राप्त गर्दा यसको महत्व, उद्देश्य, मनोनयन प्रक्रिया र सम्भावित फाइदाहरू बारे सचेत गराएको छ ।
तालिमको कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य प्रा. डा. हरिप्रसाद अर्यालले कञ्चनजङ्घा संरक्षण क्षेत्र जस्ता उच्च हिमाली पारिस्थितिक प्रणालीमा जैविक विविधताका चुनौतीलाई सम्बोधन गर्न स्थानीय ज्ञानलाई वैज्ञानिक उपकरणहरूसँग एकीकृत गर्न जोड दिनुभएको थियो ।