• २ साउन २०८२, शुक्रबार

सङ्क्रमित पशुको समयमा उपचार गरौँ

'लम्पी स्किन नियन्त्रण गर्न गाईभैँसीलाई खोप लगाऔँ '

blog

काठमाडौँ, साउन २ गते। पछिल्लो समय देशका विभिन्न भागमा लम्पी स्किनको कारण गाईभैँसीमा सङ्क्रमण हुने क्रम बढ्दो छ।दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको सङ्क्रमणदर पुनः बढ्न थालेको हो ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.नवराज श्रेष्ठ यो रोगले विशेषगरी, बर्खायाममा गाईभैँसीमा सङ्क्रमण गराउने बताउनुहुन्छ।चैत वैशाखपछि लामखुट्टे, किर्ना, भुसुनाको टोकाइबाट गाईभैँसीमा यो रोगको सङ्क्रमण बढ्ने डा. श्रेष्ठको भनाइ छ। उहाँका अनुसार वैशाखदेखि असार अन्तिमसम्म १३ हजारभन्दा बढी गाईभैँसी यो रोगको सङ्क्रण पुष्टि भएको छ।याे अवधिमा सङ्क्रमण फैलिएका १२ जिल्लामा दुई सय गाईभैँसी मरिसकेका छन्।  

पशु चिकित्सक डा. श्रेष्ठ लम्पी स्किन गाईभैँसीमा किटाणुबाट लाग्ने रोग भएको बताउनुहुन्छ।यो रोगले गाईलाई बढी सङ्क्रमण गर्छ। 

नेपालमा लम्पी स्किन पहिलो पटक विसं २०७७ सालको साउन महिनामा मोरङमा पुष्टि भएको थियो।सोही समय १५, १६ वटा जिल्लामा सङ्क्रमण फैलिएको थियो।पशु सेवा विभागको तथ्याङ्क अनुसार अहिलेसम्म आर्थिक वर्ष २०७९र०८० मा लम्पी स्किनले सबैभन्दा बढी ६५ हजार गाईभैँसी मरेका थिए।उक्त अवधिमा ७७ जिल्लामा यो रोग फैलिएको थियो।

सङ्क्रमित पशुको सिङ्गान, र्‍याल, सङ्क्रमित पशुको प्रत्यक्ष सम्पर्कमा आएका पशु, सङ्क्रमित पशुसँग लसपस भएको दानापानी, सोत्तरबाट यो रोग एक पशुबाट अर्कोमा सर्ने गर्छ ।

उच्च ज्वरो आउने, छालामा गाँठागुठी आउँने, गिर्खा फुटेर गहिरो घाउ हुने, घाउमा कीरा पर्ने यो रोगका प्रमुख लक्षण हुन्।टाउकोदेखि शरीरका छालामा गिर्खा आउने गर्छ।विस्तारै गिर्खा पाकेर घाउ हुने र सङ्क्रमण हुने, गर्भ तुहिने, सङ्क्रमितको मुखबाट र्‍याल निस्कने, खुट्टाका जोर्नी सुन्निने, पानी जम्ने, थुनमा घाउ हुने, आँखामा चिप्रा लाग्ने, गोबर तथा पिसाबमा रगत देखिने जस्ता लक्षण देखिने गर्छन् ।यो रोग लागेपछि निको हुन तीनदेखि एक महिना समय लाग्ने गर्छ।

यो बाहेक रोग लागेका गाईभैँसीले दाना पानी कम खानुका साथै दुधको उत्पादन घट्ने गर्छ।जति छिटो उपचार गर्‍यो त्यती नै जटिलता कम हुने गर्छ ।डा. श्रेष्ठका अनुसार लम्पी स्किन लक्षणका आधारमा उपचार गरिन्छ।यो रोग पशुबाट मानिसमा नसरे पनि सङ्क्रमित पशुको दुध र मासुको सेवन नगर्न चिकित्सकको सुझाव छ।

रोग लाग्न नदिन ‍‍‍ सङ्क्रमण फैलिएको  क्षेत्रमा पशुलाई सामूहिक चरनमा नलैजान उहाँले आग्रह गर्नुभयो।रोग नियन्त्रण गर्न खोरमा भएको पशुलाई खोप लगाउन र रोग लागेको भए खरिद बिक्री नगर्न उहाँको सुझाव छ।

पछिल्लो समय गाईभैँसीमा सङ्क्रमण भइरेको लम्पी स्किनको विषयमा केन्द्रित भएर वरिष्ठ पशु चिकित्सक डा.नवराज श्रेष्ठसँग गोरखापत्र अनलाइनका लागि तयार पारेको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही/केशब गुरुङ 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।