सिराज खान
नेपालगन्ज, साउन २ गते । किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज होस् भन्ने उद्येश्यले बाँकेको बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई ई-लोडिङ रिक्सा वितरण गरेको छ ।
आर्थिक वर्ष २०८१-०८२ मा किसानसँग पालिका प्रमुख कार्यक्रमका लागि विनियोजन गरिएको बजेटबाट छनोटमा परेका किसानलाई ७० प्रतिशत अनुदानमा ई–लोडिङ रिक्सा प्रदान गरिएको हो ।
ई-लोडिङ रिक्सामा अनुदान दिनका लागि गाउँपालिकाले उक्त आर्थिक वर्षमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले किसानले उत्पादन गरेको तरकारी र खाद्यान्न बालीलाई रिक्सामा लोड गरी बजारसम्म लगेर बिक्री गर्न सहज र सरल होस भन्ने उदेश्यले ई-लोडिङ रिक्सा प्रदान गरिएको बताउनुभयो । उहाँले अब किसानलाई आफ्नो उत्पादन बजारमा पुर्याउन कुनै समस्या नहुने पनि बताउनुभयो ।
गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा पालिका अध्यक्ष शाहीले किसानहरुलाई रिक्सा वितरण गर्दै आफूहरु निर्वाचित भएर आइसकेपछि किसानसँग पालिका प्रमुख कार्यक्रम नियमित रुपमा सञ्चालन हुँदै आएको बताउनुभयो ।
देशभरका ७५३ वटा स्थानीय तहमध्ये बैजनाथ गाउँपालिकाले मात्र वर्षेनी ठुलो परिमाणमा बजेट विनियोजन गरेर कृषिबाटै आर्थिक क्रान्ति ल्याउने सोच बनाएको उहाँको दाबी थियो ।
गाउँपालिकाको कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले ई–लोडिङ रिक्सालाई सही काममा प्रयोग गर्न किसानहरुसँग आग्रह गर्नुभयो । उहाँले विभिन्न चरणका प्रक्रिया पुरा गरेर ई–लोडिङ रिक्सा वितरण गरिएको पनि बताउनुभयो । ईलोडिङ रिक्सा ७० प्रतिशत अनुदानमा पाएका किसानहरु रिक्सा पाउँदा धेरै खुसी देखिएका थिए । बैजनाथ गाउँपालिकाले किसानको उन्नति र प्रगतिमा शुरुदेखि नै साथ दिंदै आएको उनीहरुको भनाइ थियो ।
वितरण कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कृषि शाखाका कर्मचारीहरु, सर्वसाधारण र किसानलगायतको सहभागिता थियो ।