राजु लामिछाने
रुकुमपश्चिम, साउन २ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजार नजिकै जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । शुक्रबार बिहान त्रिबेणी गाउँपालिका १ रुँघाबाट मुसीकोटको खंलगातर्फ जाँदै गरेको लु १ ज ४११२ नम्बरको जिप अनियन्त्रित भई राप्ती राजमार्गको मोडमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार दुर्घटनामा परेर चालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेहरुमा त्रिवेणी गाउँपालिका २ सिम्रुतु निवासी ३२ वर्षीय जिप चालक प्रेम खड्का, त्रिवेणी गाउँपालिका १ बस्ने ८४ वर्षीय शसे घर्ती, सोही वडा निवासी २० वर्षीया सरिता के.सी., २८ वर्षीया सुनीता के.सी., त्रिवेणी गाउँपालिका २ बस्ने २२ वर्षीया गीता ओली, मुसीकोट नगरपालिका १३ निवासी ४० वर्षीया सपना परियार र मुसीकोट नगरपालिका ५ निवासी ५३ वर्षीया शिवकुमारी शर्मा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु सबैलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । जिपमा रहेका १० जनामध्ये अन्य तीन जना भने सकुशल छन् ।
जिप अनियन्त्रित भई मोडमा पल्टिएको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।