• २ जेठ २०८१, बुधबार

जिसस म्याग्दीमा एमालेको प्यानल विजयी

blog

ठाकुरप्रसाद आचार्य / अमृत बास्कुने

म्याग्दी, असार ५ गते । जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको हो । 

जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले सात मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । 

यसैगरी, नेपाली कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार मनकुमारी विक र उपप्रमुखका उम्मेदवार सोहन श्रेष्ठले ५ मत प्राप्त गर्नुभयो । 

गठबन्धनले अन्य जिसस सदस्यहरुमा मनोनयन दर्ता नगरेकाले एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । 

एमालेको तर्फबाट प्रमुख पदमा निर्वाचित थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी, उपप्रमुख पदको उम्मेदवार खत्री मङ्गला गाउँपालिका १ कुुहुँबाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो । 

निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी),श्रीप्रसाद गर्बुजा (धवलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता वि.क (मंगला) गौमति चपाईं (मालिका) धनकुमारी सुनार (रघुगङ्गा) र दलित वा अल्पसङ्ख्यकबाट जानकी विश्वकर्मा निर्विरोध चयन हुनुभएको मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुको सोमबार शपथग्रहण र पदभार ग्रहणको कार्यक्रम राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मतभार थियो । एमालेको ७ मत, कांग्रेस ३ र माओवादीको २ मतभार छ ।