• १७ असार २०८१, सोमबार

म्याद सकिन दुई महिना बाँकी, जम्मा उन्नाइस प्रतिशत प्रगति

blog

नवलपरासी असार ५ गते  । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटबल– नारायणगढ सडक निर्माणले गति लिन सकेको छैन । सडक निर्माण कार्य पनि अलपत्र अवस्थामा पुगेको छ । तीन वर्षअघि सम्झौता भएर करिब ३४ महिनाअघिदेखि निर्माण कार्य सुरु भएको नारायणगढ–बुटवल सडकखण्ड निर्धारित मितिमा पूरा नहुने स्पष्ट छ । यही गतिमा निर्माण कार्य हुने हो भन्ने लक्ष्यअनुसार निर्माण (सन् २०२२ अर्थात् आगामी साउन २२) सम्ममा सडक निर्माण पूरा नहुने आयोजनाले स्वीकारेको हो ।  

सन् २०१८ जुनमा स्वीकृत २०१९ बाट काम थालनी गरेको चिनियाँ ठेकेदार कम्पनीले झन्डै ३४ महिनाको अवधिमा सडकको माटो खन्ने, फिलिङ्ग, पुल निर्माण, रुख कटान, बिजुली पोल र खानेपानीको पाइप सार्ने कामसमेत गर्न सकेको छैन । हालसम्म आयोजनाले १९ प्रतिशत मात्रै काम सकिएको जनाएको छ । गैँडाकोट दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्डका रूपमा स्वीकृत भई झन्डै १६ अर्ब ९९ करोड रुपियाँमा तीन वर्षअघि ठेक्का सम्झौता भएको थियो ।

बुटवल नारायणगढ सडकखण्डको ११३ किलोमिटर  निर्माण कार्य तीन वर्षमा सक्ने सम्झौतामा उल्लेख भए पनि कुनै प्रगति हुन नसकेको आयोजनाका इन्जिनियर रमेश दृष्टिले बताउनुभयो । एसियाली विकास बैङ्कको सहयोगमा निर्माण सुरु भएको यो आयोजना सन् २०२४ सम्म सम्पन्न हुने गरी म्याद थपका लागि सरकारसँग आग्रह गरिएको इन्जिनियर दृष्टिले बताउनुभयो । 

तर, आयोजना निर्माण कार्यमा ढिलाइ हुनुमा ठेकेदार पक्षले सरकारी पक्षलाई आरोप लगाएको छ । सुरुमा ईआईए गर्दा ११३ किलोमिटर क्षेत्रभित्र पर्ने वन क्षेत्रमा नौ हजार दुई सय रुख कटान गरिने उल्लेख भएको थियो । अहिले भने त्यो सङ्ख्या बढेर ४९ हजार ८६० पुगेकाले रुख कटान गर्न सरकारी पक्षले इजाजत नदिँदा काम गर्न नसकेको ठेकेदार पक्षले जनाएको छ । 

गैँडाकोटदेखि दाउन्नेसम्म ३६ हजार ५४५ र दाउन्नेबाट बुटवलसम्म १३ हजार ३१५ रुख कटान गर्नुपर्ने भएको तर ईआईएको पाँच वर्षअघिको प्रतिवेदनले अहिले रुख सङ्ख्या बढेको कारणले पनि सरकारी पक्षले इजाजत दिन नसक्दा आयोजना दिनप्रतिदिन ढिला गतिमा अघि बढिरहेको बताइएको छ । यो आयोजनाको धेरै भागको उत्तरतिर राष्ट्रिय निकुन्जको भाग पर्ने भएकाले पनि निकुन्जको बेवास्ताका कारण पनि रुख काटन ढिलाइ भएको जनाइएको छ ।

सो आयोजनाले सडकमा रहेका दुईतर्फी गरेर चार हजार ८३९ विद्युत्को पोल सार्नुपर्ने, एक हजार २५ वटा टेलिफोनको पोल, दुई सय दुई सोलार पोल सार्नुपर्ने भए पनि ती सबैको अहिलेसम्म पनि सरकारी पक्षबाट इजाजत नपाइदा आयोजनाले गति लिन नसकेको आयोजनाका सल्लाहकार भूमिनन्द ढकालले बताउनुभयो । 

यो आयोजनामा ४३ वटा ठूला पुल, ३९ वटा साना पुल चार सय ६२ वटा कल्भर्ट छन् । तीमध्ये अहिलेसम्म धेरै बनिसकेको छ भने बजार क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक बन्ने चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनका प्रमुख व्यवस्थापक लिनले बताउनुभयो ।

कोरोना कहरका कारण केही ढिला भए पनि रुख कटान र विद्युत् पोल स्थानान्तरण गर्ने इजाजत पाए काम दु्रत गतिमा अगाडि बढाउने बताए पनि सरकारी पक्षले इजाजत नदिँदा काम नै अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

न्जिनियर रमेश दृष्टिले पछिल्लो समय १२ वटा ठूला पुलमध्ये ११ वटामा निर्माणको काम भइरहेको र विनयी त्रिवेणीको ज्यामिरे खोलाको पुलको काम वर्षा पछि मात्रै सुरु गरिने बताउनुभयो । दृष्टिका अनुसार २२ वटा साना पुलमध्ये १५ वटामा काम भइरहेको छ । काम भएका १५ वटामध्ये नौवटा पुलबाट यस वर्षाअगाडि नै गाडी चल्नेछ ।

Author

होमराज रानाभाट