• २६ असार २०८२, बिहिबार

दियालो बङ्गला भित्रको छुट्टै संसार

blog

सामाजिक अध्ययनको पाठ पढाउँदा पढाउँदै सरले तथ्याङ्कको प्राथमिक स्रोत क्षेत्र भ्रमण हुने बताउनुभयो । क्षेत्र भ्रमणका लागि दियालो बङ्गला उपयुक्त हुने जस्तो हृदयमा आभास भयो । अनि योजना फुरी हाल्यो । भनिन्छ आफैँले देखेको र बुझेको सबैभन्दा राम्रो र प्रस्ट हुन्छ । 

शनिबार बिहान सूर्यको पहिलो रश्मिले चितवनलाई उज्यालो पार्दै थियो । चिसो हावाले शरीरलाई हल्का सिरिङ्ग पार्दै गर्दा मेरो मन भने उत्साहले भरिएको थियो । हामी चार जना साथीहरू (म, मिनाक्षी, दिव्या, ओस्निक) हाकिमचोकमा भेला भएका थियौँ । हाकिमचोकदेखि करिब तीन किलोमिटर र काठमाडौँदेखि करिब १५६ किलोमिटको दुरीमा अवस्थित दियालो बङ्गला हाम्रो आजको गन्तव्य थियो । हामी चार जना साथी रमाइलो गर्दै, पैदलयात्रा गर्दै अघि बढ्यौँ । बिहानीको वातावरण स्वच्छ थियो । यो बाटोमा यात्रा गर्दै गर्दा हामीले चितवनको हरियालीलाई नजिकबाट अनुभव गर्‍यौँ । एक घण्टाको पैदलयात्रापछि, हामी गन्तव्यको नजिक पुग्यौँ । दियालो बङ्गलाको गेटनजिक पुग्दा नै यसको भव्यता देखेर मेरो आँखा केही क्षण अडिए । मेरो गोडाले अगाडि नबढी रहन खोजे । मनमा अझ कौतुहल जाग्न थाल्यो । त्यहाँको दृश्यमा मेरो आँखा दौडिन थाले ।

यो बङ्गला ठुलो पर्खालले घेरिएको छ । हामीलाई एक अलग संसारमा प्रवेश गरे झैँ लाग्यो । वरिपरि हरियाली, ढकमक्क फुलेका रङ्गीचङ्गी फूल र लामो हरियो घाँसले ढाकिएका बगैँचा देख्दा लाग्थ्यो– प्रकृति र इतिहास यहाँ हातेमालो गर्दै हिँडिरहेका छन् । मुख्य भवनअगाडि खुलेको फराकिलो आँगन थियो । त्यसको बायाँपट्टि ठुला अग्ला रुख थिए, जसले सिङ्गो बङ्गलालाई एक प्रकारको शीतलता प्रदान गरिरहेको थियो । हावा हल्का चल्दै गर्दा रुखका पात एकअर्कासँग कुरा गरिरहेको लाग्थ्यो । चरा चिरबिर गरिरहेका थिए र हाम्रो मनले एक किसिमको शान्त तथा सुखानुभुति गरिरहेको थियो ।


मुख्य ढोकाबाट भित्र छिर्दा हामीलाई दरबारको झल्को दिने सुन्दर परिवेश महसुस भयो । ठुलो हल, कलात्मक काठका नक्कासीदार ढोकाहरू र शान्त वातावरणले हामीलाई केही क्षण स्तब्ध बनायो । भित्र छिर्दै जाँदा एउटा ठुलो बैठक कोठा देखियो । गाढा रातो र सुनौलो रङले सजाइएको त्यो कोठाको फर्निचर निकै भव्य थियो । सिँगारिएको कुर्सी, लामो टेबल र परम्परागत झ्यालढोकाले हामीलाई दरबारी समयको झल्को दिइरहेको थियो । ठुलो ओछ्यान, भुन्डिएको झ्यालको पर्दा र छतमा झलमल गरिरहेको भुमरले कोठालाई आकर्षक बनाएको थियो । हामीले प्रत्येक कोठालाई नियाल्दै हेर्‍यौँ र क्षीण कल्पना गर्‍यौँ– कहिलेकाहीँ यहीँ बसेर राजपरिवारका सदस्यहरूले चिया पिउँदै बाहिर हेर्थे होलान्, इतिहासको एक टुक्रा जिउँदो देखे झैँ लाग्यो ।

हाम्रो यात्रा केवल भित्रको सुन्दरतासम्म सीमित थिएन । बाहिर खुला आँगन र हरियाली बगैँचाले झनै मन लोभ्याई हाम्रो ध्यान तानिहाल्यो । हामी सबै जना ओछ्यान जस्तो देखिने घाँसे मैदानतिर लाग्यौँ । शीतल हावाले अनुहारमा स्पर्श गर्दा आत्मालाई शान्त बनाइरहेको थियो । बङ्गलानजिकैको नारायणी नदीको सुसाइ पनि हल्का सुनिन्थ्यो । हामी केहीबेर शान्त भएर स्वप्निल कल्पनामा हरायौँ । केही समयपछि, हामी बगैँचाभित्र घुम्न थाल्यौँ । एकछिन त हामी बङ्गलाभन्दा बाहिरको त्यो प्राकृतिक सुन्दरता नै हेर्दै हरायौँ ।

बङ्गला घुम्दा समय बितेको पत्तै भएन । घाम विस्तारै पश्चिम फर्किन थालेपछि हामी फर्किनुपर्ने समय भएको महसुस भयो । हामीले पुनः केही क्षण बगैँचामा बितायौँ । अन्तिम पटक बङ्गलालाई हेर्दै फर्कने निधो गर्‍यौँ तर मन त्यहाँ छुट्टिन मानेको भने थिएन ।

हिँड्दै गर्दा हामी सबैले एउटै कुरा महसुस गर्‍यौँ– दियालो बङ्गला केवल इँटा र काठको संरचना मात्र होइन, यो इतिहास, संस्कृति र प्रकृतिको मिलनविन्दु पनि हो । हाम्रा आदरणीय शिक्षकको सल्लाह अनुसार यस यात्राले हामीलाई इतिहासको महसुस मात्र गराएन, शान्ति, सौन्दर्य र सम्पदाप्रतिको प्रेम पनि थपिदियो ।  

 मुना