• ५ साउन २०८१, शनिबार

युवकको ज्यान गएपछि स्वीमिङ पुल बन्द

blog

भैरहवास्थित होटल पौवाले सञ्चालन गरेको स्वीमिङ पुल । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, असार ४ गते । पौडी खेल्नेक्रममा एक युवकको डुवेर मृत्यु भएपछि रुपन्देही प्रहरीले भैरहवास्थित होटल पौवाको स्वीमिङ पुल बन्द गराएको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो । 

दुई साता अगाडि राती सोही ठाँउमा एक युवाको पनि डुबेर मृत्यु भएको थियो । केही दिनकै फरकमा दुई जनाको डुबेर मृत्यु भएपछि तत्कालका लागि स्वीमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय तथा परिवारका सदस्यले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका थिए । होटलबाट कुनेै पनि प्रकारको सुरक्षा र बचावको काम नभएको भन्दै आक्रोशित परिवारले यस्ता घटना दोहोरिन नदिन सबै स्वीमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन । “सकिन्छ भने मापदण्ड पूरा गरेर चलाउने व्यवस्था गरौं, हैन भने कसैको ज्यानसँग खेलवाड गर्न पाइदैन”–आक्रोशित परिवारका सदस्यले भन्नुभयो । 

स्वीमिङ पुल सञ्चालन भएसम्म तालिम प्राप्त गार्ड र प्राविधिक राख्न माग स्थानीयले गर्नुभयो । २० दिन अगाडि पनि होटलमा सोही प्रकृतिको घटना घटेको थियो । “होटलले घटना हुँदा पनि अझैसम्म सुधार गरेको छैन” मृतकका मामा पंकज उदासले भन्नुभयो ।

मृतक तुलाधार परिवारको एक मात्र छोरा हुनुहुन्थ्यो । उहाँ तीन दिनअघि मात्रै स्वीमिङ सिक्नका लागि मेम्बरसीप लिनुभएको थियो । प्रशिक्षण दिन नसक्ने होटलले मेम्बरसीप लिएर विनाप्रशिक्षक स्वाीमिङ पुल चलाइरहेको पीडितको आरोप छ । समयमा उद्धार नभएकोले भान्जा गुमाउनुपरेको उदासले बताउनुभयो ।

मृतकको शव हाल भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवारका सदस्य होटल सञ्चालक र प्रहरीबीच छलफल भैरहेको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभओम कम्पनीले २० वर्षका लागि बाल उद्यान सञ्चालन गर्ने भनी सम्झौता गरेको छ । सम्झौतामा बाल उद्यान भनिए पनि सम्झौता विपरित करोडौंको संरचना बनाएर बाल उद्यानको साटो होटल सञ्चालन गरिएको स्थानीयको भनाई छ ।

पौवा होटलका प्रबन्धक विष्णु भण्डारीले घटना हुँदा तीन जना सेफ्टी गार्ड रहेको बताउनुभयो । “एक जना सानो स्वीमिङमा र दुई जना ठूलो स्वीमिङ पुलमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँहरुलाई तालिम दिएर राखिएको उहाँको भनाई छ । होटल सञ्चालक तथा कम्पनीका अध्यक्ष हरि थापाले अब मापदण्डमा आएर मात्रै स्वाीमिङ पुल सञ्चालन गर्ने बताउनुभयो ।