• ८ जेठ २०८१, मङ्गलबार

पर्यटकको चाप बढेपछि कुश्माका होटल व्यवसायी उत्साहित

blog

गणेश पौडेल

पर्वत, असार ४ गते । केही वर्ष पहिले सरकारी कामका लागि कुश्मा आउने बाहेक आन्तरिक तथा बाह्य पर्यटक देख्नै मुस्किल हुने पर्वतमा पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । केही वर्ष यता बनेका अग्ला र लामा पुलका कारण केही आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेको होटल व्यवसायीको भनाइ छ । पछिल्लो समय साहसिक पर्यटकीय पूर्वाधार निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढेको हो ।

पर्वत सदरमुकाम कुश्मा विभिन्न सङ्घ संस्थाबाट अवलोकन भ्रमणका लागि गन्तव्यस्थल बन्दैगएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, जिपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो । दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ भित्रिने गरेका छन् ।

पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन् । होटल सञ्चालकका अनुसार एक साता अघिदेखि नै होटल बुकिङ हुने गरेका छन् । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधा सम्पन्न होटल पनि थपिन थालेका छन् । 

एक दुईवटा मात्रै सुबिधा सम्पन्न होटल रहेको कुश्मामा अहिले करिब दर्जन बढी स्तरीय होटलहरु बनेका छन् । त्यस्तै, बन्जी वरपर दर्जनौं सङ्ख्यामा होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आएका छन् । यसले गर्दा सयौंलाई रोजगारी तथा व्यवसाय गर्ने अवसर मिलेको छ । 

सडक सञ्जाल बिस्तार भएसँगै हिमालपारिको जिल्ला मुस्ताङ पुगेर फर्किनेहरु समेत बास बस्न र घुम्नका लागि कुश्माका कारण होटलमा समेत व्यापार व्यावसाय बढेकोे होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

उहाँकाअनुसार चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तु लगायत क्षेत्रबाट शैक्षिक संघ संस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घ संस्थाबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउनेक्रम बढेको छ । 

पहिल्ला केही महिना यता सदरमुकामका सुविधा सम्पन्न मानिने बन्दना, बेन्जुु, माउन्टेन भ्यू, फ्रेन्डली, ओरियन्ट लगायत होटलहरु भरिभराउ रहनेगरेको सञ्चालकहरूको भनाइ छ । बञ्जीजम्प र जिपलाइनमा समेत एक हप्ता अघिदेखि नै टिकट बुक हुनेगरेको छ ।