• ५ जेठ २०८१, शनिबार

खाने तेल र फलामे डन्डीको मूल्य घट्यो

blog

काठमाडौँ, असार ३ गते । केही दिनयता खाने तेलको मूल्य प्रतिलिटर १० देखि ३० रुपियाँसम्म सस्तिएको छ । युक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको हो । 

भारत निर्यात रोकिएपछि खपत बढाउन तेल उद्योगीले मूल्य घटाएको खुद्रा तथा थोक व्यापारीले बताएका छन् । यसैगरी अहिले भारतमा खाने तेलमा शून्य भन्सार दर भएका कारण भारतबाट नेपालतर्फ चोरी पैठारी बढेको व्यापारीले बताएका छन् । किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाने तेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले नै मूल्य घटाएर भए पनि बिक्री गर्न बाध्य भएको बताउनुभयो ।

तेल उद्योगीले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै नेपालमा पनि मूल्य घटेको बताएका छन् । नेपाल घिउ तेल उत्पादन सङ्घका अनुसार नेपालमा हाल तेल घट्नुको कारण अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको मूल्य घट्नुरहेको छ । 

थोक व्यापार सङ्घका अनुसार एक महिनाअघि सूर्यमुखी खाने तेलको प्रतिकार्टोन तीन हजारदेखि तीन हजार तीन सय रुपियाँ थियो । अहिले यो दुई हजार सात सय रुपियाँसम्म झरेको छ । 

यसैगरी लामो समयदेखि लगातार बढेको फलामे डन्डीको मूल्य घट्न थालेको छ । अहिले ठूला पूर्वाधार निर्माण कार्य ठप्प भएका कारण खपत घटेपछि डन्डीको मूल्य घट्न थालेको हो । नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार दुई साताअघिसम्म प्रतिकेजी १४० रुपियाँसम्म रहेको फलामे डन्डीको मूल्य १०५–११५ रुपियाँसम्म छ । गएको साउन–भदौमा ५२ रुपियाँ प्रतिकेजी कारोबार भएको डन्डीको भाउ जेठमा बढेर १४० रुपियाँसम्म पुगेको थियो । 

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अहिले डन्डीको माग नै घटेकाले मूल्य घटेको बताउनुभयो । नेपाल स्टिल उद्योग सङ्घले भने स्टिलको भाउ अन्तर्राष्ट्रिय बजारमा घटेसँगै नेपालमा पनि घटेको जनाएको छ । 

निर्माण सामग्री व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय निर्माण सामग्रीको मागमा उल्लेख्य कमी आएको छ । निर्माणको सिजनकै रूपमा हेरिने वैशाख, जेठमा समेत निर्माण सामग्रीको मागमा ७५ प्रतिशतसम्म कमी आएको सङ्घले जनाएको छ ।