• २५ माघ २०८२, आइतबार

रचनात्मक झिल्कादेखि व्यावसायिक उद्यमसम्म

blog

काठमाडौँ, माघ १ गते । नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिने विश्वास गरिएको छ । 

यस वर्षको संस्करणले डिजिटल सामग्रीको सृजनामाथि केन्द्रित ध्यान दिगो पेसागत व्यवसायहरूतर्फ मोड्दै उक्त महत्त्वपूर्ण मञ्चमा उल्लेखनीय परिवर्तन गरेको छ । 

विभिन्न सहरमा गरिने यो कार्यक्रमको आयोजना चितवनमा माघ ३ गते, नेपालगन्जमा माघ १० गते र काठमाडौँमा दुई दिवसीय फिनालेका रूपमा माघ १६ र १७ गते हुने आयोजकले जनाएको छ । 

रचनात्मक झिल्कादेखि व्यावसायिक उद्यमसम्म : यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ डिजिटल कथाकथन र व्यावसायिक उद्यमबिचको खाडल पुर्नेतर्फ लक्षित छ । 

प्रविधि, डिजिटल प्लेटफर्मबाट हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समाहित गर्दै यस मेलाले डिजिटल सामग्रीका सर्जक ‘क्रिएटर्स’ लाई आफ्नो प्रभावलाई दीर्घकालीन पेसाकर्मका रूपमा विकसित गर्न मार्गचित्र प्रदान गर्नेछ ।

‘क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता दर्साउँछ,’ नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भन्नुभयो । ‘नेपालभर ज्ञान, सीप र सञ्जालहरूलाई बढवा दिँदै हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा पुर्‍याउँदै छौँ । 

हामी नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारहरूमाझको सफलताका लागि तयार पार्दै छौँ, जसले अझ गहन आर्थिक सम्बन्धहरू र साझा समृद्धिलाई प्रोत्साहित गर्नेछ ।’ 

सहभागीहरूले सज्जन राज वैद्य, प्रियङ्का कार्की, आयुष्मान् जोशी, टु बी गेमर, लेक्स लिम्बू, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा, सोनाम तोप्देन, श्रीशेष मानन्धर र नेपाल एट्थ वन्डरलगायत अन्य थुप्रै प्रभावशाली आवाजहरूका यात्राबाट सिक्ने र प्रस्तुतिको अनुभव लिने अद्वितीय अवसर पाउनेछन् ।