काठमाडौँ, माघ २ गते । रिसोर्ट/होटलमा साधारण सभा गरेर महँगो मायाको चिनो दिने सहकारीभन्दा पृथक् काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिका वडा नं १० मा रहेकोे चन्डेनी साना किसान सहकारीले साधारण सभाका अवसरमा किसानलाई युरिया मल, कुटो, कोदालो, कोदाली र दुध बोक्ने क्यान उपहार दिएको छ ।
किसान समृद्ध भए मात्रै सहकारी र गाउँ समृद्ध हुने भएकाले सहकारीको साधारण सभामा उत्कृष्ट कारोबार गर्ने र सहकारीको साधारण सभामा सहभागी हुने सदस्यलाई पुरस्कारस्वरूप युरिया मलदेखि कुटोसम्म उपहार दिएको हो । सहकारीले त्यस क्षेत्रका एक हजार ८०परिवारलाई आबद्ध गराएर कृषिमा यान्त्रीकरणसँगै बिउबिजनमा सहुलियत र तरकारी बजारीकरणमा आठ वर्षदेखि निरन्तर प्रयास गरिरहेको संस्थाका अध्यक्ष सुमन नेपालले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रमा उत्पादित तरकारी बिचौलियाबिनै सहरसम्म लैजाने काम गरिरहेको सहकारीले साधारण सभाका अवसरमा किसानलाई आवश्यक पर्ने सामग्री नै उपहार दिएको उहाँले बताउनुभयो ।
त्यस भेगको अग्रणी किसान गीता नेपालले प्रथम पुरस्कारस्वरूप युरिया मल पाउनुभयो । उहाँले हिउँदे तरकारी बाली लगाउने तयारी गरेकाले मलको पूर्ण रूपमा सदुपयोग हुने उल्लेख गर्नुभयो ।
सरकारले पनि समयमा मल दिन नसकेको समयमा सहकारीमा आबद्ध भएबापत युरिया मलले पुरस्कृत हुने आफूले कहिल्यै पनि नसोचेको बताउनुभयो । कृषिकर्म गर्दा पुरस्कार पाइने आफूले पहिलो पटक भोगेको नेपालले अनुभव सुनाउनुभयो ।
मल पाउनुभएकी मैयाँ पराजुलीले सहकारीले आफूहरूमा आत्मनिर्भर बनाउन प्रोत्साहन गरेको बताउनुभयो । विशेष रूपमा महिला पनि व्यावसायिक तरकारी खेतीमा आबद्ध भएर त्यसबाट मनग्ने आम्दानी लिन सकिने उदाहरण सहकारीले दिएको पराजुलीले भन्नुभयो ।
सहकारीको साधारण सभामा सहभागी भएपछि पुरस्कारस्वरूप कोदाली पाएपछि गोविन्दप्रसाद नेपाल खुसी हुनुहुन्छ । उत्पादन बढाउन कोदालीको अनेकौँ काम भएकाले यो पुरस्कारले आफूमा ऊर्जा बढाएको गोविन्दले बताउनुभयो । अब यस्ता कोदाली आफूहरूभन्दा पनि नवयुवा (जेनजी) लाई दिन सहकारीले विशेष भूमिका खेल्न आवश्यक रहने उहाँले सुझाउनुभयो । कृषि सहकारीमा आबद्ध भएपछि जैविक विषादी प्रयोगबारे ज्ञान, कृषिमा यान्त्रीकरण र बजारीकरणको महŒवसँगै मासिक बचत गर्न सिकाएको उहाँले भन्नुभयो ।
किसानले नियमित रूपमा दुःख गरे पनि आफ्ना धेरै इच्छा पूरा गर्न नसक्दा मानसिक तनाव झेल्ने गरेकोमा यो माघको जाडोमा सिरक, ब्ल्याङ्केट उपहार पाएको भन्दै कृषिको असल सम्मान भएको कृष्णप्रसाद तिमिल्सनाले बताउनुभयो । नियमित बचतले ऋण पनि पाउने र ऋणले व्यावसायिक तरकारी खेतीमा सहयोग पुग्ने बताउनुभयो ।
कोदालो पाउने लक्ष्मण नेपाल, दुध बोक्ने क्यान पाउने बद्रीप्रसाद नेपाल, कोदालो पाउने पिङ्गे तामाङले राम्रो सहकारीमा आबद्ध भएपछि घाटा कम र नाफा धेरै हुने गरेको आफूहरूले पाएको बताउनुभयो । “अरू ठाउँमा सहकारी भागेको भन्ने सुन्छौँ तर हाम्रो गाउँको सहकारीले पुरस्कार पो दिन्छ,” तामाङले भन्नुभयो । मन्डनदेउपुर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार तामाङले चन्डेनी कृषि सहकारीले निरन्तर रूपमा किसानसँग नजिक रहेर काम गरिरहेको बताउनुभयो । उहाँले वडाले पनि कृषकका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।