• १ माघ २०८२, बिहिबार

सिमलताल बस दुर्घटनाः त्रिशूलीमा अवशेष निकाल्ने काम पाँचौँ दिनसम्म जारी

blog

उत्खनन् गरिएको बस । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ १ गते । चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि बेपत्ता रहेको बसको अवशेष निकाल्ने कार्य पाँचौँ दिनसम्म जारी छ । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित नदी किनारमा आइतबार फेला परेको बसको भग्नावशेषलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अझ तीव्र गतिमा उत्खनन् गरिरहेको छ ।

बसको अवशेष विगत १८ महिनादेखि त्रिशूलीमा गाडिएको अवस्थामा थियो। वि.सं. २०८१ असार २८ गते पहिरोसँगै खसेको काठमाडौं–गौर यात्रा गर्ने ‘गणपति डिलक्स’ (बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बर) बस आइतबार बालुवा र गेग्रानको थुप्रोमुनि फेला परेको हो।

प्राप्त जानकारी अनुसार आइतबारदेखि हालसम्म अथक प्रयासले पनि बसको धेरै भाग अझै बालुवामा गाडिएको र लेदोले भरिएकाले निकाल्न चुनौतीपूर्ण भएको छ । जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक ले भने, “बस निकै गहिरोसँग पुरिएको र क्षतविक्षत अवस्थामा छ। त्यसैले प्राविधिक सावधानी अपनाउँदै उत्खनन जारी राखेका छौँ ।”

सिमलताल दुर्घटनामा दुईवटा बस त्रिशूलीमा खस्दा ५१ यात्रु अझै बेपत्ता छन्। भारतका गोताखोरले समेत लामो समय खोजी गर्दा फेला पार्न नसकेको बसको अवशेष आइतबार भेटिएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट, आँबुखैरेनीसहित चितवन र तनहुँका ५० भन्दा बढी सुरक्षाकर्मी परिचालित छन् ।