• १ माघ २०८२, बिहिबार

नेकपा (माओवादी) र जेन–जी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति

blog

काठमाडौं, माघ १ गते । नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ । 

बिहीवार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिनुभयो । 

हस्ताक्षरपछि माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासित सहमति भएको दाबी गर्नुभयो । उहाँकाअनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र जेन–जी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो । 

उहाँले आन्दोलन गन्तव्यमा नपुग्दासम्म आन्दोलनको विषय बनिरहने जिकिर गर्नुभयो ।

संविधान सच्याउन जरुरी

यसैबीच, जेन–जी अभियन्ता मिराज ढुंगानाले जेन–जी विद्रोहबाट अर्थहिन निर्वाचनमात्रै पाएको बताउनुभएको छ । 

बिहीवार माईतीघरमा प्रदर्शनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गर्नुभयो । 

उहाँले अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको बताउनु भयो । अहिले नेपालमा पात्र मात्र नभर्इ प्रणाली पनि गलत रहेको जिकिर गर्नुभयो । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको भन्दै युवाका भावना नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको दाबी गर्नुभयो । 

उहाँले अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताउनु भयो ।