काबुल, माघ २ गते । अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्याइ रहेको छ । विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस सङ्कटमा महिला र बालबालिकालाई सहयोग पुर्याउन असफल भएको छ ।
देशमा सन् २०२१ देखि तालिवानको शासन छ र त्यसपछि दाताको सहायता लगातार घट्दै आएको छ । सन् २०२४ सालमा विश्व खाद्य कार्यक्रममा आएको सहयोग रकम सन् २०२५ मा आधाभन्दा कम भएको छ । आउँदो १२ महिनामा पाँच लाखभन्दा बढी महिला र बालबालिकाले तीव्र कुपोषण भोग्ने छन् भने करिब चार लाख बालबालिकालाई उपचार आवश्यक पर्न सक्छ ।
कुपोषण उपचार गर्ने क्लिनिक बन्द हुँदै गएका छन् र उपचार नपाउँदा धेरै बालबालिका ज्यान गुमाउने जोखिममा छन् । गर्भवती र स्तनपान गराइरहेकी महिलामा पनि कुपोषणको सङ्ख्या बढेको छ । यी महिला आफ्ना सन्तानलाई खान दिन आफूले पर्याप्त पोषण लिन नसक्ने अवस्थामा छन् । जहाँ सहायता रोकिएको छ, त्यहाँ परिवारले छोरीलाई सानो उमेरमै विवाह गर्न बाध्य बनाइरहेका छन् र बालबालिकालाई विद्यालयबाट निकालेर काममा पठाइरहेका छन् ।
अफगानिस्तान अहिले खाद्य असुरक्षा र कुपोषणको गम्भीर सङ्कट भोगि रहेको छ, र लाखौं महिला र बालबालिकालाई जीवन रक्षाको लागि तत्काल सहयोग आवश्यक छ । रासस/एएफपी