• २ माघ २०८२, शुक्रबार

शिक्षकको लोभलाग्दो कृषिकर्म

blog

किवी बजार पठाउने तयारी गर्नुहुँदै लक्ष्मीपति न्यौपाने । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता 

तम्घास (गुल्मी), माघ २ गते  ।  गुल्मीमा एक शिक्षकले शिक्षण पेसासँगै कृषिकर्मबाट लोभलाग्दो आम्दानी गर्नुभएको छ । कालीगण्डकी गाउँपालिका–२, अर्बेनीका ३८ वर्षीय लक्ष्मीपति न्यौपानेले कालीगण्डकी–१ को देउराली माध्यमिक विद्यालयमा प्राथमिक तहको राहतमा रही अध्यापन गर्दै आउनुभएको छ । शिक्षणका साथमा उहाँले कृषि पेसाबाट लोभलाग्दो काम गर्दै आउनुभएको छ ।

कृषि पेसाबाटै उहाँले वार्षिक २५ लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । न्यौपानेले २०७१ सालमा दुर्गादेवी मत्स्यपालन तथा तरकारी कृषि फार्म दर्ता गर्नुभएको हो । उहाँले १४ रोपनी जग्गामा ताजा तरकारी, काउली, सिमी, अकबरे खुर्सानी लगाउनुभएको छ । 

यसका साथै १६ रोपनी जग्गा लिजमा लिई लगाएका ६५० वटा किवीका बिरुवाले उत्पादन दिन थालेका छन् । किवी बिक्रीबाटै १५ लाख आम्दानी गरेको उहाँले बताउनुभयो । यस्तै केही जग्गा लिजमा र आफ्नै गरी करिब ६० रोपनी जग्गामा एक हजार छ सयभन्दा बढी सुन्तलाका बिरुवा छन् । करिब आठ सय बिरुवाले राम्रो उत्पादन दिएको न्यौपानेले बताउनुभयो । 

यस वर्ष करिब एक सय क्विन्टल सुन्तला बेचेको उहाँको भनाइ छ । उहाँले सुन्तलाबाटै करिब सात लाख रुपियाँ आम्दानी गर्नुभएको हो । प्रतिकेजी ६५ भन्दा बढीमा सुन्तला बिक्री गरेको उहाँले बताउनुभयो । 

बिहान, साँझ र बिदाको दिन सदुपयोग गर्दै आफैँ बारीमा खट्ने गरेको उहाँको भनाइ छ । नियमित रूपमा नभई आवश्यकताका आधारमा दैनिक ज्यालादारीमा कामदार लगाउने गरेको न्यौपानेले बताउनुभयो । कृषिकर्मबाट नेपालमै केही गर्नु पर्छ भन्ने उद्देश्यलाई श्रीमतीको राम्रो साथ रहेकाले आफू अहिले यहाँसम्म आउन सकेको न्यौपानेले बताउनुभयो । श्रीमान्ले गर्न लागेको कामलाई आफूले सक्दो सहयोग गर्दै आएको र कृषिकर्मको रेखदेख गर्दै आएको श्रीमती सिर्जना न्यौपानेले बताउनुभयो ।

हर्मिचौर, अर्बेनीमा कुनै विवाह, व्रतबन्ध र पूजाआजा भएमा तरकारीको माग सिधै आउने भएकाले घरमै पु-याइदिने गरेको न्यौपानेले बताउनुभयो । उहाँले गरेको कृषिकर्मलाई हेर्न जिल्ला र जिल्लाबाहिरबाट पनि कृषक र कार्यालयका अधिकारी जाने गरेका छन् । फार्मलाई स्थानीय सरकार र कृषि ज्ञान केन्द्रबाट पनि राम्रो सहयोग मिलेको न्यौपानेले बताउनुभयो ।