• २ माघ २०८२, शुक्रबार

मुख्यमन्त्री आचार्यद्वारा बाह्रकुने दह र बराह मन्दिर अवलोकन

blog

नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित मुख्यमन्त्री आचार्य मन्दिरको अवलोकन गर्नुहुदै ।

सन्तोष दहित

दाङ, माघ १ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्तिको अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल बाह्रकुने दहको अवलोकन गर्दै बराह मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । वराह क्षेत्र संरक्षण तथा सम्वर्द्धन धार्मिक समितिले पुस २९, ३० र माघ १ गतेसम्मका लागि माघे संक्रान्ति बाह्रकुने दह मेला २०८२ आयोजना गरेको छ ।

समितिसँगको छलफलमा मुख्यमन्त्री आचार्यले बाह्रकुने दह क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको र सुरक्षा व्यवस्थाका लागि अस्थायी प्रहरी चौकी स्थापना गर्न पहल गर्ने बताउनुभयो । यसले मेला र धार्मिक स्थलका आगन्तुकका लागि थप सुरक्षाको वातावरण बनाउने विश्वास व्यक्त गरिएको छ ।

वराह क्षेत्र संरक्षण तथा सम्वर्द्धन धार्मिक समितिका अध्यक्ष देवबहादुर घर्ती र सचिव लिलाजित नेपालीले बाह्रकुने दह १२ भाइ ब्राहको जन्मस्थलका रूपमा धार्मिक महत्व बोकेको जानकारी गराउनुभयो । स्थानीयका अनुसार यो दह पहिले ठुलो ताल थियो, पछि साँघुरिएर हालको स्वरूपमा आएको हो । मनोकामना पूरा हुने विश्वासले वर्षभरि यहाँ भक्तजन आकर्षित हुने गरेका छन् ।

धार्मिक स्थलको अवलोकनका क्रममा एमाले महासचिव शंकर पोखरेल, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, सुजिता शाक्य, मेनका पोखरेल, घनश्याम पाण्डे, रेवतीरमण शर्मा, छविलाल वलीलगायतको उपस्थिति थियो ।