• ६ जेठ २०८१, आइतबार

साना तथा मझौला उद्योगहरुको संरक्षण गर्नुपर्छ : प्रम देउवा

blog

तस्विर –मनाेज शाही

काठमाडौं, असार २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरुको संरक्षण गर्न मद्दत पुग्ने बताउनुभएको छ । बिहीबार भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “निर्यात प्रबर्द्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य विना सम्भव हुँदैन, निकासी प्रबर्द्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर छ ।” व्यापार मेला तथा प्रदर्शनीले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित स्वदेशी वस्तुलाई प्राथमिकताका साथ समावेश गरी त्यस्ता वस्तुको प्रचारप्रसार तथा बजार पहुँच विस्तार गर्न जोड दिनुपर्ने उहाँको भनाइ छ । 

प्रधानमन्त्री देउवाले प्रदर्शनीबाट निकासी प्रबर्द्धनमा सहयोग पुग्नाका साथै नेपालका साना तथा मझौला उद्योगको संरक्षण र दिगो विकाससमेतमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यसतर्फ आगामी दिनमा आयोजकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यही असार ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल र बङ्गलादेशमा उत्पादित स्थानीय वस्तुलाई प्रदर्शनीमा राखिएको छ ।

प्रधानमन्त्री देउवाले निकासी प्रबर्द्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्दै प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “एक्स्पोले धेरै वस्तुलाई एकै स्थलमा व्यापार गर्ने स्थान उपलब्ध गराउने मात्र नभई उत्पादन र उपभोक्ताबीच सीधा सम्पर्क पनि गराउँछ, जसका कारण उत्पादकले बजारको मागसमेतलाई आकलन गरी व्यापार प्रबर्द्धन गर्न सक्छन ।”

नेपाल चेम्बर अफ कमर्सले मुलुकको आर्थिक विकास, समृद्धिका लागि सरकारलाई विभिन्न रचनात्मक सुझाव र सल्लाहसमेत प्रदान गर्दै निजी क्षेत्रमैत्री नीति अवलम्बन गर्न सहयोग पु-याउँदै आएको जनाउँदै उहाँले औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिला सम्बन्धमा नीति तर्जुमादेखि कार्यान्वयनसम्म चेम्बरले सरकारलाई आवश्यक सुझाव र परामर्श  दिँदै आएको स्मरण गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शले सरकार, निजी क्षेत्रबीच सहकार्य र समन्वय अभिवृद्धि गर्न बलियो सेतुको काम गर्दै आइरहेको उहाँको भनाइ छ । प्रदर्शनीले कोभिड–१९ का कारण शिथिल भएको मुलुकको व्यापार तथा अर्थतन्त्रलाई थप गति र ऊर्जा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली उत्पादनको बजारीकरण तथा अन्तर्राष्ट्रियकरण गरी नेपालको आर्थिक वातावरणलाई चलायमान बनाउन टेवा पुग्ने बताउनुभयो ।

प्रदर्शनीका दौरानमा हुने उद्यमी–व्यवसायीबीचको अन्तक्रिया र आयात–निर्यातसम्बन्धी विषयको सूचना आदान प्रदानले दुई वा सोभन्दा बढी मुलुकका उद्यमी व्यवसायीबीच व्यापारिक क्रियाकलाप सञ्चालनमा आवश्यक समन्वयसमेत गर्न सघाउ पुग्ने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, “यस्ता एक्स्पोले मुलुकमा विस्तारै चलायमान बन्दै गएको पर्यटन क्षेत्रलाई थप गतिसमेत दिन मद्दत पुग्ने हुन्छ, एक्स्पोमा आउने व्यक्तिलाई नजिकका पर्यटकीय क्षेत्रमा पुर्‍याउन सकियो भने आम्दानीमा बढोत्तरी हुनुका साथै मुलुकका पर्यटकीय सम्पदाको प्रचारप्रसार भई पर्यटन प्रबर्द्धन हुने हुन्छ ।”

नेपालका लागि बङ्गलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरीले प्रदर्शनीले दुई देशबीचको व्यापारिक र सांस्कृतिक सम्वन्धलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विशेष गरी नेपाली सिस्नोका कपडा, ढाकाका कपडालगायतका वस्तुको उत्पादन र प्रबर्द्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो ।

  

नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले कोभिड-१९ पछिको असहज परिस्थितिमा चेम्बर एक्स्पो गरिएको बताउनुभयो। मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन एक्स्पोले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाइ छ।

मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडीबुटी जन्य वस्तु,  इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य वस्तु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्री प्रर्दशनीमा राखिएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ। मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायीसहित एक सय ५० भन्दा बढी स्टलरहेका छन्। 

  

तस्विरहरू –मनाेज शाही