• ५ साउन २०८१, शनिबार

रेसुङ्गा विमानस्थल परीक्षण उडानमै सीमित

blog

विमानस्थलको तस्विर –तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार २ गते । शिलान्यास भएको १६ वर्ष बित्नैलाग्दा गुल्मेलीहरुले रेसुङ्गा विमानस्थलबाट विमान चढेर भैरहवा र काठमाडौं जान पाएका छैनन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रदीपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको विमानस्थलको निर्माण कार्य करिब सकिएको छ । 

२०७५ साल जेठ २५ गते तारा एयरको ९ एनएकेएल कल साइन भएको विमानले परीक्षण उडान भरेको र परीक्षण उडान सफल भएको थियो । तर जनताको आशा भने परीक्षण उडानमै सीमित भएको छ ।

केन्द्रीयदेखि जिल्ला, स्थानीय नेताहरुले नियमित रुपमा उडान भर्ने भन्दै भोट मागेर जितेका प्रतिनिधिहरुले यसबारे चासो दिन छाडेको बताइएको छ ।

अहिले विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम केही बाँकी छ ।

हाल विमानस्थलमा वरिपरि पर्खाल, धावनमार्गको कालोपत्रे, बाह्रय ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ । विमानस्थल आयोजनाले करिब निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइ र चौडाइ २० मिटर छ । १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलमा हालसम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको विमानस्थल गुल्मीका सवइन्जिनियर दीनेश परियार बताउनुहुन्छ ।

विमानस्थलको निर्माण कार्य सम्पन्न भएको आफूहरुले विभागलाई जानकारी गराएको परियारले बताउनुभयो । निर्माण कार्य सम्पन्न भए पनि अफिस सेटअप गर्ने र कर्मचारी खटाउने काम विभागको भएको उहाँको भनाइ छ । 

विमानस्थल निर्माणका लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधिग्रहण गरिएको छ ।

सम्बद्ध पक्षसँग सहकार्य गरेर छिटोभन्दा छिटो उडान गर्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।