• १२ असार २०८१, बुधबार

जनप्रतिनिधिलाई आँखा स्वास्थ्य सचेतना

blog

जानु पाण्डे

कपिलवस्तु, असार २ गते । ग्रामीण क्षेत्रका आँखाको बिरामी पहिचान गरी उपचारका लागि प्रेरित गर्न कपिलवस्तुका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई सचेतना प्रदान गरेको छ । अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ ।

अस्पतालका प्रमुख प्रशासक शम्सेर थापा र आँखा स्वास्थ्य बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले सहजीकरण गर्नुभएको थियो । आँखालाई स्वस्थ राख्ने उपाय, आँखामा लाग्ने रोग र रोगका कारण, समुदायमा आँखा रोगीको अवस्थाको विषयका छलफल गरिएको थियो । जनतालाई मोतिविन्दु रोगबाट आँखाको ज्योति गुम्न नदिन नगरपालिकाले साप्ताहिक रुपमा आँखा जाँच शिविर सञ्चालन गरेको बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो ।

अस्पतालले स्थापना भएको १६ वर्षमा नौ लाख आँखा रोगीको उपचार गरेको नेपाल नेत्र ज्योति सङ्घ दाङका सभापति रेशमबहादुर खड्का बताउनुभयो । अस्पतालले हाल सम्म एक लाख २१ हजार मोतिबिन्दुका बिरामीको सर्जरी गरेको छ । वार्षिक औसत १० हजार बिरामीको सर्जरी गर्दै आएको अस्पतालका अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।