• १५ असार २०८१, शनिबार

दिया मास्केको 'सीता' लुक्स सार्वजनिक

blog

काठमाडौ, असार १ गते । भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा ‘प्रकाश’ टिमले अभिनेत्री दिया मास्केको चरित्र पोस्टर सार्वजनिक गरेको छ । मास्केले फेसबुकमा आफू फिचर ‘प्रकाश’को एक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा आफू 'सीता'को चरित्रमा देखिने जानकारी दिनुभएको हो । 

चलचित्रमा मास्के जुम्लाको एक विपन्न विवाहित महिलाको भूमिका देखिनुभएको छ । 

 मास्केले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको छ । महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, 'चलचित्र न्यारेटिभ'को अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो प्रकाश चलचित्रको प्रतिनिधि पात्र ‘सीता’।”

दियाबाट 'सीता' बनिरहँदा चलचित्रको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महशुस नभएकोसमेत उहाँले उल्लेख गर्नुभएको छ । 

उहाँ थप लेख्नुहुन्छ, “गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाइ गिज्याउनु हो भन्ने मलाई लाग्छ । आज प्रकाशको पोस्टर सेयर गरिरहँदा मन ढक्क फुलेको महशुस गर्दैछु, यो सिताप्रतिको मेरो लगाव र गर्व दुवै हो ।” 

कथा छनौट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान नदिने उहाँको भनाइ छ । 

“कहिलेकाहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतीत हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौं । प्रकाश को टिजर हेरेर मलाई धेरैले मिठो प्रतिक्रिया दिनुभएको छ । सिनेमामा आफ्नो कामलाई लिएर अहिले बोल्नु अलि हतारो होला । मात्र यति भन्छु (समय बदलिएको छ र अहिले सिनेमामा एकपछि अर्को सशक्त भूमिकाद्वारा सिनेमालाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरु लाई  सिनेमा आख्यानमा स्थापित गर्न थलिएको महसुस गरेको छु ।” यसरी खुशी व्यक्त गर्दै उहाँले अब नेपाली सिनेमामा कलाकारहरु बन्नका लागि राम्रो समय आएको बताउनुभएको छ ।

दिनेश राउतले निर्देशन गर्नुभएको चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने चलचित्रमा प्रदीप खड्का, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक, निरज पन्थीलगायतको पनि अभिनय छ । 

यस्तै, चलचित्रमा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ ।