• १६ चैत २०८०, शुक्रबार

पहिरोले गोठ र भान्साघर बगाउँदा नौ लाखको क्षति

blog

गुरुङको भान्साघर र गोठमा पहिरोले क्षति पुर्‍याएको दृश्य । तस्बिर ः सामाजिक सञ्जाल ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले एक स्थानीयको गाईगोठ र भान्साघर बगाउँदा नौ लाख रुपियाँ बराबरको क्षति भएको छ । सिरिजङ्घा गाउँपालिका–१ सिनामका स्थानीय कुलबहादुर गुरुङको भान्साघर र गोठमा पहिरोले क्षति पुर्‍याउँदा उक्त मूल्य बराबरको नोक्सानी भएको हो । 

केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको र वर्षाका कारण मङ्गलबार बिहान घर माथिबाट झरेको पहिरोले क्षति पुर्‍याएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गुरुङको गोठमा रहेका चौपाया बाख्रा र कुखुरा पहिरोले बगाएको छ । पहिरोले भान्साघरमा क्षति पुगेको छ । 

गुरुङको गाईगोठ र खोरमा रहेका पाँचवटा बाख्रा, पाँचवटा बङ्गुर, तीनवटा खसी र १५ वटा कुखुरा पहिरोले बगाएको प्रहरीले जनाएको छ । पहिरोले उक्त पशुचौपाया तथा पन्छी बगाएको र भान्सा घरमा पुगेको क्षति विवरणलाई मूल्यमा परिणत गर्दा नौ लाख रुपियाँ बराबरको नोक्सानी हुन गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

यता पहिरोले गुरुङको घर भने जोगिएको सिनामका वडाध्यक्ष सिंहबहादुर इवारमले जानकारी दिनुभयो । भान्साघर र गाईगोठ बगाउने गरी झरेको पहिरोबाट घर जोगिँदा मानवीय क्षति हुन नपाएको वडाध्यक्ष इवारमको भनाइ छ । उहाँले वर्षा अझै निरन्तर रहेकाले जोखिम कायमै रहेको बताउनुभयो । सिनाम क्षेत्रकै सोसुवा, हैराँगे, निबुखोला लगायतमा बाढी पहिरो आउँदा हाल ग्रामीण सडकहरु अवरुद्ध बनेको पनि वडाध्यक्ष इवारमले जानकारी दिनुभयो ।

यस्तै, निरन्तरको वर्षाका कारण सिदिङ्वा गाउँपालिका–४ साब्लाखुस्थित इन्द्रावती आधारभूत विद्यालय पनि पहिरोको जोखिममा परेको छ । स्थानीयका अनुसार विद्यालय नजिकबाट पहिरो बग्न थालेको छ । निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो र ढिस्कोहरु बगेकाले जिल्लाभरका ग्रामीण सडकहरु अवरुद्ध हुन थालेका स्थानीयले बताएका छन् ।