• १५ असार २०८१, शनिबार

नवनिर्वाचित जिसस प्रमुख लामाद्वारा पदभार ग्रहण

blog

आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्नुभएका प्रमुख लामा । तस्बिर - चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १ गते । जिल्ला समन्वय समिति (जिसस) ताप्लेजुङका नवनिर्वाचित प्रमुख छिरिङ लामाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार दिउँसो मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश प्रकाश राउतमार्फत् पद तथा गोपनीयताको सपथ लिएपछि लामाले पदभार ग्रहण गर्नुभएको हो । 

सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थित जिल्ला समन्वय समितिको कार्यालयमा आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्नुहुँदै लामाले पदीय जिम्मेवारीअनुसार आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यकाल भर जिल्लाको समग्र विकास र सुशासनका निम्ति सरोकारवाला सबैसँग समन्वय गरेर पदीय दायित्व पूरा गर्नमा आफू लागिपर्ने उहाँले बताउनुभयो । 

नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष रहनुभएका लामा जिल्ला समन्वय समिति चयनका लागि मङ्गलबार भएको निर्वाचनबाट प्रमुख पदमा निर्वाचित हुनुभएको हो ।  सत्ता गठबन्धनकोतर्फबाट प्रमुख पदको उम्मेदवार बन्नुभएका भएका लामाले नेकपा एमालेका प्रत्यासी घनेन्द्र मादेनलाई पराजित गर्नुभएको थियो । 

यस्तै, जिल्ला समन्वय समितिका नवनिर्वाचित उपप्रमुख कृष्णप्रसाद लिङ्खिम र सबै सदस्यले बुधबार नै पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उपप्रमुख लिङ्खिम, सदस्यहरु विष्णुप्रसाद तिवारी, भूपाल मादेन, रवीन्द्रकुमार वनेम, सन्तोष राई, चन्द्रकला दाहाल, सविता लिङ्देन र हेमन्ता पौडेललाई प्रमुख लामाले सपथग्रहण गराउनुभएको थियो । नौ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य गठनबन्धन प्यानलका निर्वाचित हुनुभएको हो ।