चन्द्र पन्दाक
ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङस्थित हिमाली तथा पर्यटकीय बस्ती घुन्सा र फलेमा विद्युत् साथै सञ्चार सेवा अवरुद्ध बनेको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको उक्त बस्तीहरुमा एक सातायता विद्युत् र सञ्चार सेवा अवरुद्ध बनेको हो ।
स्थानीय घुन्सा खोला लघु जलविद्युत् आयोजनामा समस्या आएपछि घुन्सा र फले बस्तीमा विद्युत् सेवा सेवा अवरुद्ध भएको हो । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय तेन्जिङ सेराप शेर्पाका अनुसार ३५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनामा करिब एक सातादेखि समस्या आएको छ । आयोजनाको टर्वाइनमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध बनेको शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्युतसँगै सो क्षेत्रमा सञ्चार सेवा अवरुद्ध बनेको हो । सोही आयोजनाबाट उत्पादित विद्युतको प्रयोगबाट सञ्चार उपकरण अर्थात टावर सञ्चालनमा रहेका कारण विद्युत् सेवा अवरुद्ध भएसँगै सञ्चार सेवा पनि अवरुद्ध हुने पुगको शेर्पाले बताउनुभयो । अब विद्युत् सेवा सुचारु नहुँदासम्म सञ्चार सेवा पनि सञ्चालनमा नआउने उहाँको भनाइ छ ।
घुन्सा खोला लघु जलविद्युत् आयोजनाको उत्पादन बन्द हुँदा घुन्साका ३४ परिवार र फलेका करिब १२ विद्युत् उपभोग गर्नबाट बञ्चित भएका छन् । विद्युत् असुविधाको मार स्थानीयवासी साथै कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटक समेतलाई परेको छ । यता विद्युतकै कारण सञ्चार सुविधा अवरुद्ध हुँदा घुन्सा, फले र ग्याब्ला क्षेत्र सम्पर्क विच्छेद भएको फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य शेर्पाले बताउनुभयो ।
लघु जलविद्युत् आयोजना मर्मतका लागि बुटवलबाट प्राविधिक झिकाउनुपर्ने भएकाले प्राविधिकसँग सम्पर्कको पहल भइरहेको पनि शेर्पाले बताउनुभयो । हालसम्म सडकको पहुँच पुग्न नसकेको यि हिमाली बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पनि विस्तार हुन सकेको छैन । समुद्री सतहदेखि घुन्सा बस्तीको उचाइ तीन हजार ४७५ मिटर रहेको छ भने फलेको उचाइ तीन हजार २३२ मिटर रहेको छ ।